भाजापले ३०० भन्दा बढी सीट जितेर दुईतिहाइको सरकार बनाउने दाबी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

भाजापले ३०० भन्दा बढी सीट जितेर दुईतिहाइको सरकार बनाउने दाबी



काठमाडौं – भारतमा लोकसभा निर्वाचनको ६ चरणको मतदान सम्पन्न भइसकेको छ । प्रधामन्त्री नरेन्द्र मोदी र भारतीय जनता पाटी अध्यक्ष अमित शाहले आफ्नो दल ३०० भन्दा बढी सीट जितेर दुईतिहाइ बहुमतका साथ आगामी सरकार बनाउने बताएका छन् ।

भाजपा एक्लैले बहुमतको आँकडा छुने शाहले दाबी गरे ।

‘पाँचौं र छैठौं चरणको मतदानपछि भाजपाले बहुमत ल्याउने अनि सातौं चरणपछि ३०० सीट कटाउनेछ,’ शाहले भने ।

मोदी पनि शाहजत्तिकै आत्मविश्वासी देखिए । उनले पश्चिम बंगालमा आयोजित एक चुनावी सभामा भने, ‘भाजपाले बंगालको ४२ लोकसभा सीटमा बहुमत ल्याउँछ र लोकसभामा ३०० सीटभन्दा बढी जित्छ ।’

मोदीले आफ्नो दल सत्तामा फर्किने आत्मविश्वास प्रकट गर्ने गरेको भए पनि पहिलोपटक भाजपाले ३०० सीट कटाउने दाबी गरेका हुन् । सन् २०१४ को चुनावमा पार्टीले २८२ सीट ल्याएको थियो ।

सातौं तथा अन्तिम चरणको चुनाव आइतवार हुँदैछ । पूर्ण बहुमतका लागि कुनै पनि दलले २७२ सीट जित्नुपर्ने हुन्छ ।

नयाँ दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा शाहले भने, ‘तपाईं मिडियाकर्मीहरू हामीले कति सीट जित्छौं भनी सोधिरहनुहुन्छ । म देशभरि घुमेको छु र जनताको उत्साह हेर्दा भाजपाले पाँचौं र छैठौं चरणको चुनावपछि बहुमतको आँकडा पार गर्नेमा म विश्वस्त छु । पार्टीले सातौं चरणपछि ३०० सीट कटाउँछ र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एनडीएले फेरि सरकार बनाउँछ ।’

विपक्षी दलहरूको गठबन्धनले भाजपाको सीट संख्या नघटाउने शाहको दाबी थियो ।

द टाइम्स अफ इन्डियाबाट