उत्तर प्रदेश मत सर्वेक्षण- बिजेपीको खाता कमजोर - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

उत्तर प्रदेश मत सर्वेक्षण- बिजेपीको खाता कमजोर



काठमाडौं – भारतमा केन्द्रीय सरकार गठन गर्ने लोकसभा निर्वाचन सम्पन्न भएको छ। निर्वाचनसँगै भारतमा कसको सरकार बन्छ भन्ने अनुमान सुरू भएको छ।

भारतमा सरकार गठनका लागि सबैभन्दा धेरै प्रभाव उत्तर प्रदेशको नतिजाले पार्छ। ५ सय ४२ सिट मध्ये उत्तर प्रदेशमा मात्र ८० सिट छ। गत निर्वाचनमा भारतीय जनता पार्टीले ८० मध्ये ७१ सिट जितेको थियो। हिन्दु बहुल उत्तर प्रदेशमा धार्मिक मुद्दाले प्राथमिकता पाउँदै आएको छ। त्यसमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं पनि उत्तर प्रदेशको बनारसबाट निर्वाचन लडेका छन्। त्यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धी पनि उत्तर प्रदेशकै अमेठीबाट निर्वाचनको दौडमा छन्। भारतमा कथन छ ‘जसले उत्तर प्रदेश जित्छ उसले सरकार बनाउँछ।’

भारतको उत्तर प्रदेशले अहिलेसम्म भारतका लागि नौ प्रधानमन्त्री दिइसकेको छ। झण्डै बेलायतको आकारको उत्तर प्रदेशनै भारतीय लोकसभा निर्वाचनको केन्द्र हो।

तर यसपटक उत्तर प्रदेशमा भारतीय जनता पार्टीलाई पहिलाको जस्तै नतिजा दोहोर्‍याउनु कठिन छ। उत्तर प्रदेशका दुई कट्टर दुश्मन पार्टी मानिएका बहुजन समाज पार्टी(बिएसपी) र समाजवादी पार्टी(एसपी)ले गठबन्धन गरेका थिए। यसले मोदीको बिजेपीलाई धक्का दिन सक्छ।

दलित राजनीतिबाट माथि आएकी मायवातीको बहुजन समाज पार्टीको उत्तर प्रदेशमा राम्रो प्रभाव छ। यही प्रभावले मायावती चार पटक उत्तर प्रदेशमा मुख्यमन्त्री भएकी थिइन्। यसपटक मायावतीको पार्टी र पूर्वमुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीसँग गठबन्धन गरेको छ।

त्यसैले पनि बिजेपीका लागि उत्तर प्रदेश यसपटक कठिन छ। तर केही अघि भएको प्रदेश निर्वाचनमा बिजेपीले उत्तर प्रदेशमा सरकार बनाएको छ भारतीय जनता पार्टीका योगी आदित्यनाथ त्यहाँ मुख्यमन्त्री छन्। यो निर्वाचनलाई आदित्यनाथको पनि परीक्षा मानिएको छ।

भारतीय टेलिभिजन च्यानल एनडिटिभीले यसपटक बिजेपीले उत्तर प्रदेशमा १६ सिट गुमाउने अनुमान गरेको छ। अघिल्लो पटक ७१ सिट जितेको बिजेपीले ५५ सिट जित्ने एनडिटिभीको मत सर्वेक्षणले देखाएको छ। अर्थात् बिजेपी नै उत्तर प्रदेशमा सबैभन्दा ठूलो पार्टी हुनेछ। भारतीय कांग्रेसले यसपटक पनि २ सिट मात्र जित्ने सर्वेक्षणमा उल्लेख छ। सन् २०१४ को चुनावमा पनि कांग्रेसले दुई सिटमै चित्त बुझाउनु परेको थियो।

जबकी बिएसपी र एसपी गठबन्धनले २३ सिट प्राप्त गर्ने देखाएको छ। बाँकी सिट बिएसपी र एसपीले प्राप्त गर्नेछन्। त्यो बिजेपीको खाताबाट घट्नेछ।

टाइम्स नाउको सर्वेक्षणले त्यहाँ भाजपाले ५८, कंग्रेसले २ र  बहुजन-समाजवादी गठबन्धनले २० सिट ल्याउने देखाएको छ। एबिपीको सर्वेक्षणले भने भाजपा २२, कंग्रेस २ र गठबन्धनको ५६ सिट आउने देखाएको छ। जनकी बातको सर्वेक्षणमा भाजपाको ५३, कंग्रेसको ३ र गठबन्धनको २४ सिट आउने देखिएको छ।

भारतमा मत सर्वेक्षण लोकप्रिय छ। तर ठूलो जनसंख्या भएकाले भारतमा मत सर्वेक्षण माथि विश्वास नगर्नेको संख्या पनि ठूलो छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले ‘मत सर्वेक्षणको नतिजा देखाएर भोटिङ मेसिन बदल्ने र मत परिवर्तन गरिने’ बताएकी छिन्। उनले विपक्षी दलहरुलाई एकमत र बलियो रहन आग्रह गरेकी छिन्।