तेल र ग्यासको भुक्तानी अब बिटक्वाइनबाट - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

तेल र ग्यासको भुक्तानी अब बिटक्वाइनबाट



मस्को । रुसले आफ्नो तेल र ग्यास निर्यातबापत बिटक्वाइनमा भुक्तानी स्वीकार गर्नेबारे सोचिरहेको एकजना उच्च पदस्थ विधायकले बताएका छन् ।

विधायक पाभेल जाभाल्निले मित्र राष्ट्रहरूलाई क्रिप्टोकरेन्सी वा तिनीहरूका आफ्नै स्थानीय मुद्रामा भुक्तानी गर्न अनुमति दिइन सकिने बताएका छन् । यसै साताको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले राम्रो मित्रता नरहेका मुलुकहरूले रुसी मुद्रा रुवेलमै आफ्नो ग्यास किनोस् भन्ने चाहेको बताएका थिए ।

यस पछिल्लो कदमलाई रुसी मुद्रालाई प्रबर्द्धन गर्ने लक्षको रूपमा बुझिएको छ । यसवर्ष मात्र रुवेलको मूल्य २० प्रतिशतले भन्दा बढी गिरेको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि बेलायत, अमेरिका र युरोपेली संघले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएकाले रुवेलको अवमूल्यन हुनाका साथै रुसी जनजीवन निकै महँगो भएको छ । प्रतिबन्धको अनुसरण गरेर विश्वका थुप्रै नाम चलेका कम्पनीहरूले धमाधम रुसमा आफ्नो कारोबार बन्द गर्न थालेका छन् ।

अमेरिकाले बिहीबार पुन: रुसमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । तर अझैसम्म पनि रुस विश्वको सबैभन्दा ठूलो ग्यास निर्यातक तथा दोस्रो ठूलो तेल आपूर्तिकर्ता रहेको छ ।

रुसको स्टेट डुमाको ऊर्जा समितीको अध्यक्ष जाभाल्निले बिहीबार मुलुकले ऊर्जा निर्यातको भुक्तानी प्राप्त गर्ने वैकल्पिक उपायहरूको अन्वेषण गरिरहेको बताएका छन् ।

उनले प्रतिबन्धको दबाबमा संलग्न नरहेका मुलुक चीन र टर्की मैत्रीपूर्णमध्येमा पर्ने पनि बताएका थिए । उनले चीन र टर्कीले रुवेल बदलामा क्रमशः युआन र लिरा अथवा बिटक्वाइनमा कारोबार गर्न सक्ने बताएका छन् ।

विश्लेषकहरूकाअनुसार रुसले जोखिमका बाबजुद पनि लोकप्रिय क्रिप्टोकरेन्सी स्वीकारेर फाइदा लिन सक्ने छ ।