प्रेमीसँग मिलेर श्रिमतीले गरिन आफ्नै पतिको हत्या - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

प्रेमीसँग मिलेर श्रिमतीले गरिन आफ्नै पतिको हत्या



 

कैलाली । गत असार ८ गतेदेखि ससुराली बाटै हराईरहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का तेजबहादुर विष्टको शव प्रहरीले फेला पारेको छ । अनुसन्धान गर्दै जाने क्रममा उनकै श्रीमति लक्ष्मी बडेलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको पत्ता लागेको छ । कैलालीको गोदावरी –१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही रातिदेखि तेजबहादुर वेपत्ता भए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि अर्थात असार १० गते प्रहरीलाई खबर गरे ।

त्यसलगत्तै अनुसन्धान गरेको प्रहरीले भासु भिरमा तल खसालेर मारेको पत्ता लगाएको र हत्यामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार दीपक र लक्ष्मीले पहिलादेखि नै एकअर्कालाई मन पराउँथे । लक्ष्मीले दीपकसँग विवाह गर्न चाहेपनि परिवारले नमानेर कञ्चनपुरका तेजबहादुर विष्टसँग विवाह गरिदिएका थिए ।

जसरी पनि एक अर्काको हुने भनेर कसम खाएका उनीहरुले असार आठ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा पुर्याएर रडले टाउकोमा हानेर विष्टलाई उनी सवार म १ प ७४७७ नम्बरको मोटरसाइकलसहित तल खसालेर फर्किएको घिमिरेले बताए ।

प्रहरी अहिले घटनास्थलमा छ । प्रहरी उपरीक्षक घिमिरेले घटनास्थलसम्म पुग्न निकै कठिनाइ रहेको बताए । मोटरसाइकल र मृतक विष्टको शव देखिए पनि सडकसम्म ल्याइपुर्याउन केही समय लाग्न सक्ने उनले बताए ।