निर्वाचन आयोगमाथि विश्वप्रकाश शर्माले उठाए गम्भीर प्रश्न - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

निर्वाचन आयोगमाथि विश्वप्रकाश शर्माले उठाए गम्भीर प्रश्न



नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगले अभिव्यक्ति स्वतन्त्रताविपरीत निर्वाचन आचारसंहिता जारी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको भए पनि आचारसंहितामा त्यसलाई बन्देज लगाउन खोजिएको भन्दै शर्माले असन्तुष्टि जनाएका हुन् ।

‘अहिले बनेको आचारसंहितामा केही प्रश्न उठाउनुपर्ने विषय पनि छन् । सामाजिक सञ्जालबाट प्रचार गर्न नपाउने हो भने, उम्मेदवारले मात्रै गर्न पाउने भन्ने हो भने, पार्टीले मात्रै आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रचार गर्ने भन्ने हो भने त्यो अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाएको हुन्छ,’ शर्माले भने, ‘आचारसंहिताले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता बन्देज गर्न खोजेको छ भने त्यसलाई करेक्सन गरौँ । र, स्वस्थ ढंगले निर्वाचनमा प्रतिस्पर्धा गरौँ । निर्वाचनमा फजुल खर्च नगरौँ ।’

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीनिकट नेपाल सांस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा शर्माले उम्मेदवार र पार्टीको आधिकारिक फेसबुक पेजबाट मात्रै चुनावको प्रचार गर्न मिल्ने तर अन्य नागरिकले नमिल्ने भन्ने खालको निर्वाचन आचारसंहिता करेक्सन गरेर अघि बढनुपर्ने बताए ।

चुनावमा फजुल खर्च नगर्न र स्वस्थ प्रतिस्पर्धामा भाग लिन पनि पार्टीका स्थानीय तहका उम्मेदवारहरूलाई उनले सचेत गराए ।

महामन्त्री शर्माले चुनावका बेला झुटा आश्वासन बाँडेर नहिँड्न पनि पार्टीका उम्मेदवारहरूलाई आग्रह गरे । चुनावका बेला देखाएका झुटा सपना पूरा गर्न नसक्दा जनतामा निराशा छाउने शर्माको भनाइ थियो ।