देउवा सरकारबाट जनताका सबै अपेक्षा पुरा हुँदैनन्: विश्वप्रकाश शर्मा - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

देउवा सरकारबाट जनताका सबै अपेक्षा पुरा हुँदैनन्: विश्वप्रकाश शर्मा



काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षाहरू पूरा हुन नसक्ने पनि बताएका छन्। साथै उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने पनि बताए।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताए।

कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले बताए। जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा सरकारलाई ध्यानाकर्षण गराउने उनले उल्लेख गर्नुभयो। कोभिड-१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने उनको भनाइ छ।

त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरू बनाउने दिर्शातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताए।

सरकार संविधानअनुसार चलाउने, संविधान र संसदको रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र निर्वाचन सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको भन्दै सोअनुसार भए नभएको जनताले समीक्षा गर्नुपर्ने बताए।

त्यसैगरी केन्द्रीय कार्यसम्पादन समितिले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनको सम्बन्धमा पनि टुंगोमा पुगिने उनले बताए। केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीको सबै तहमा कार्यसम्पादन समिति गठन हुने पनि उनले जानकारी दिए।

कांग्रेसको यसअघि भर्चुअल रूपमा बसेको केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो।