विश्वप्रकाशले भने: दुईतिहाईले सरकार बलियो हुंदैन !
बाँके – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाले कुनै सिट खाली गराएर नेता बामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएमा वर्तमान सरकारको जनमतको परीक्षण हुने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले गौतमका लागि नेकपाले जुन सिट खाली गराए पनि नेपाली कांग्रेस विजयी हुने दावी गरे ।
गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो निर्वाचन क्षेत्र खाली गराएमा आफूहरुलाई निर्वाचनको तयारी गर्न सहज हुने शर्माले बताए ।
उनले गठन भएको ६ महिना मात्रै भएकाले वर्तमान सरकारको कामको आलोचना गर्ने समय भइनसकेको बताए ।
प्रवक्ता शर्माले आर्थिक विकास र समृद्धिमा सरकारको अहिले नै आलोचना गर्ने समय नभएको भए पनि शान्ति सुरक्षाको सन्दर्भमा भने सरकार कमजोर देखिएको टिप्पणी गरे । दुई तिहाईको साथले प्रधानमन्त्री बलियो नहुने भन्दै कार्यक्षमताले मात्रै प्रधानमन्त्रीलाई बलियो बनाउने उनको भनाई छ ।
सरकारले अहिलेसम्मको कामकारबाहीको मुल्यांकन गर्दै सच्चिएर अघि बढ्नु पर्नेमा प्रवक्ता शर्माले जोड दिए ।
संविधान खतरामा नपरोस् भन्दै शर्माले संविधान जारी गर्ने समयका सहयात्री दलबीच सहकार्य आवश्यक भएकोमा जोड दिए । अहिले पनि प्रदेशको नामाकरण नभएको, राजधानीका विषयमा प्रवेश नभएको भन्दै उनले संविधानको कार्यान्वयन र पालनामा सरकार कमजोर देखिएको बताए ।
प्रदेशको नामाकरण र राजधानीका विषयमा प्रदेश सरकारले सहजीकरण गर्नुपर्ने उनले भनाई छ । उनले करको विषयमा स्थानीय तहलाई दोष देखाएर सङ्घीयता प्रति नै नकारात्मक धारणा बनाउन मद्दत गर्नु भन्दा पनि संविधान अनुसारको प्राकृतिक श्रोत तथा वित्त आयोग गठन गर्न सुझाव दिए । उनले समयनुसार पार्टीमा रुपान्तरण आवश्यक भएको पनि बताए ।