विश्वकै सबैभन्दा ‘हेन्डसम’ कार्यकारी प्रमुख (टप लिस्ट) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विश्वकै सबैभन्दा ‘हेन्डसम’ कार्यकारी प्रमुख (टप लिस्ट)



काठमाडौं, साउन १७ । सूचना–प्रविधिमा मानिसको पहुँच बढेसँगै विश्वमा विभिन्न प्रकारका खोज, अनुसन्धान र विश्लेषणले पनि गति पाइरहेका छन् । विभिन्न विषयमा मानिसको चासो बढ्दो छ, तिनमा आधारित खोज, अनुसन्धान र विश्लेषणहरु पनि विभिन्न माध्यमबाट आइरहेको छ ।

यस्तै चासोमध्ये एक बनेको विश्वकै ‘हेन्डसम कार्यकारी प्रमुख’ । मुलुकको कार्यकारी अधिकार हासिल गरेका विश्वका विभिन्न नेतामध्ये सबैभन्दा हेन्डसम (आकर्षक) को होला भन्ने जिज्ञासालाई एउटा वेबसाइटले मेटाउने प्रयास गरेको छ । ‘हटेस्ट हेड अफ स्टेट’ नामको उक्त वेबसाइटले विश्वकका हेन्डसम राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सूची जारी गरेको छ ।

सूचीको पहिलो नम्बरमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो छन् । सन् २०१७ नोभेम्बरदेखि क्यानाडाको कार्यकारी प्रमुखको भूमिकामा रहेका उनी अन्तर्राष्ट्रिय जगतमा निकै लोकप्रिय मानिन्छन् ।

दोस्रो नम्बरमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज छन् । उनले केही महिना अघिमात्र मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

तेस्रो नम्बरमा भुटानका नरेश जिग्मे खेसर नामग्याल छन् ।

चौथो नम्बरमा न्यूजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा अर्डेर्न छिन् ।

पाँचौं नम्बरमा हाइटीका राष्ट्रपति जोभेनेल मोउसे छन् ।

त्यस्तै छैठौं नम्बरमा स्लोभाकियाका प्रधानमन्त्री पिटर पिल्लेग्रिनी छन् ।

सातौं नम्बरमा आइसल्याण्डकी प्रधानमन्त्री कट्रिन जाकोब्स्डोट्टिर छिन् ।

विश्वको आठौं हेन्डसम कार्यकारी प्रमुखमा फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोँ छन् ।

नवौं नम्बरमा भने लाइबेरियाका राष्ट्रपति जर्ज वेआह छन् ।

हालै विश्वकप फुटबलका विभिन्न चरणका खेलमा खेलाडीको मनोबल उकास्दै सामाजिक सञ्जालमा छाएकी क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिच उक्त सूचीको दशौं नम्बरमा छिन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन उक्त सूचीको १२ औं नम्बरमा रहँदा रुसी राष्ट्रपति भ्यादिभिर पुटिन २८ औं, जापानी प्रधानमन्त्री सिन्जो आबे ५० औं, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ९७ औं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १४० औं र चिनियाँ राष्ट्रपति सी चिनफिङ १९६ औं नम्बरमा छन् ।

सूचीको पुछारमा अर्थात् १९८ औं नम्बरमा उत्तर कोरियाली नेता किम जोङ उन छन् ।

सूची जारीभएसँगै कतिपय पाकिस्तानी नागरिकले भने चाँडै नै उक्त सूचीमा फेरबदल हुने प्रतिक्रिया दिएका छन् । हालै पाकिस्तानमा सम्पन्न निर्वाचनमा पूर्वक्रिकेटर इमरान खान नेतृत्वको दल विजयी भएका कारण खानले प्रधानमन्त्री पद सम्हाल्ने तयारी गरिरहेको भन्दै उनीहरुले पाकिस्तानका भावी प्रधानमन्त्री सूचीको पहिलो नम्बरमा आउने दावी गरेका हुन् ।

सूचीमा नेपालका कार्यकारी प्रमुख भने सामेल छैनन् । (एजेन्सी)