विश्व विजेता फ्रान्सले जर्मनीसँग टक्कर लिन सकेन
विश्व विजेता फ्रान्स जर्मनीसँग गोलरहित बराबरीमा रोकिएको छ । गएको जुलाईमा रुसमा सम्पन्न भएको विश्वकप फुटबलमा समूह चरणबाटै बाहिरिएको जर्मनीले उपाधि उचालेको जर्मनीलाई गोलरहित बराबरीमा रोकेको हो ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले सुरु गरेको युरोपका देशहरुबिचको नयाँ प्रतिस्पर्धा युइएफए नेशन्स लिगको लिग ए अन्तर्गतको खेलमा फ्रान्सले गोल गर्न नसकेको हो ।
गएको जुलाईमा क्रोएसियालाई हराएर विश्व विजेता बनेपछिको यो पहिलो खेल थियो । जर्मनीको पनि समूह चरणबाटै बाहिरिएपछिको पहिलो खेल हो । फ्रान्सका एन्टोनी ग्रिजम्यानले सुन्दर प्रहार गरेका थिए ।
तर जर्मनीका गोलरक्षक म्यानुएल नुयरले सुन्दर बचाउ गरे । पहिलो हाफमा कमजोर देखिएको खेल दोस्रो हाफमा सुधारिएको थियो । जर्मनीका मार्को रुइस र म्याथिएस गिन्टरले पोस्ट प्रहार गरेका थिए । तर फ्रान्सका गोलरक्षक एलफोन्से एरिओलाले राम्रो बचाउ गरे ।
समूह ए वान अन्तर्गत रहेका फ्रान्स र जर्मनीले अब नेदरल्याण्डसँग खेल्ने छन् । नयाँ प्रतियोगिता नेशन्स लिगको लिग ए का लागि १२ देशलाई हरेक समूहमा तीन तीन देश हुने गरी चार समूहमा बाँडिएको छ ।
लिग ए अन्तर्गतका देशलाई ए वान देखि ए फोर सम्मका समूहमा विभाजन गरिएको छ । होम एण्ड अवे खेल सकिएपछि समूह विजेताहरु आउँदो जुनमा हुने फाइनल चरणका लागि जाने छन् । यसरी फाइलन चरणमा आएका लिग ए का देश मध्येबाट एउटा नेशन्स लिग च्याम्पियन बन्ने छ ।
नेशन्स लिगको लिग एमा बेल्जियम, आइसल्याण्ड र स्वीट्रल्याण्ड समूह ए टू, इटाली, पोल्याण्ड र पोर्चुगल समूह ए थ्री तथा क्रोएसिया, इंग्ल्याण्ड र स्पेन समूह ए फोरमा छन् ।
नेशन्स लिग लिग ए देखि लिग डी सम्म हुनेछ ।