काठमाडौं प्रहरी प्रमुख पोखरेलको दिल्लीमा सरुवा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काठमाडौं प्रहरी प्रमुख पोखरेलको दिल्लीमा सरुवा



काठमाडौं: नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बुधबार गृहमन्त्रालयले सरुवा गर्‍यो।

एसएसपीको सरुवा हुनेमा काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेललगायत अन्य २७ जना छन्। त्यस्तै चारजना डिआइजी रहेका छन्। परिसरका प्रमुख पोखरेल २८ माघ ०७४ बाट काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका थिए।

उनलाई भारतस्थित नेपाली दूतावासमा सरुवा गरिएको छ। छोटो समयमै एसएसपी पोखरेलले काठमाडौंको गुण्डागर्दी एवं लागूपदार्थ आसोरपसार नियन्त्रणसँगै शान्ति सुरक्षा मजवुद बनाउन सफल भएका प्रहरी अधिकृतहरू बताउँछन्। तर, स्रोतका अनुसार प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालकै सक्रियतामा उनलाई दिल्ली सरुवा गरिएको हो। ‘उनले यति छोटो समयमै उपत्यकाको शान्ति सुरक्षामा पाएको सफलतास्वरूप उनलाई दिल्ली पुर्‍याइएको हो,’ स्रोतले भन्यो।

पदस्थापन सुरु गरेको एक वर्षसम्म सरुवा गर्न नपाइने प्रहरी नियमावलीमा उल्लेख छ तर पोखरेल भने सात महिनामै सरुवा भएका हुन्। प्रहरी नियमावलीमा एक वर्ष नपुगी सरुवा गर्नुपरेमा सरुवा गर्नुपर्ने कारण उल्लेख गर्नुपर्ने व्यवस्था छ। तर, पोखरेलको हकमा त्यो पनि लागू नभएको कतिपय प्रहरी अधिकृतको भनाइ छ। पोखरेल नेपाल प्रहरीभित्र व्यावसायिक प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। उनी हालका डिआइजीहरूले सेवा अवधिका कारण अवकाश पाएपछि नेपाल प्रहरीका भावी आइजिपीका समेत दाबेदार हुन्।