कार्यकर्ताहरूलाई प्रशिक्षण दिदै शर्माले भने पार्टीको त्रुटि पहिल्याउन भन्दा पनि त्रुटि सच्याउनुहोस् - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

कार्यकर्ताहरूलाई प्रशिक्षण दिदै शर्माले भने पार्टीको त्रुटि पहिल्याउन भन्दा पनि त्रुटि सच्याउनुहोस्



नयाँ दिल्ली 

नेपाली काँग्रेसका प्रवक्ता  विश्वप्रकाश शर्माले पार्टीको त्रुटि पहिल्याउन भन्दा पनि त्रुटि सच्याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्  ।

शनिवार भारतको राजधानी दिल्लीमा नेपाल तरुण दल भारत, दिल्ली शाखाले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा नेतृत्व क्षमताको बारेमा बोल्दै उहाँले अहिले जसले पनि काँग्रेसको गल्ती र त्रुटि भन्न सक्ने गरेको भन्दै कार्यकर्तामा त्रुटि बताउनुका साथ-साथै सच्याउन पनि सक्नुपर्ने बताएका हुन्  । शर्माले कार्यक्षमता र नेतृत्वका कारण राष्ट्रव्यापी रूपमा त्रुटि पहिल्याएर त्यसलाई सच्याउने काममा तरुण दल लाग्न सक्नुपर्नेमा जोड दिए  ।

गल्तीका तीन आयाम हुने भन्दै उनले गल्ती गर्ने कुरा प्रकृति भएको, गल्ती स्वीकार गर्ने कुरा संस्कृति भएको र गल्तीलाई स्वीकार गरी सच्चिएर अगाडी जाने कुरा प्रगति भएको बताए ।

त्यसै गरी समारोहमा बोल्दै नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पनि कार्यकर्ताहरूलाई तरुण दलको भूमिका महत्त्वपूर्ण हुने भन्दै कुशल क्षमता प्रदर्शन गर्न सुझाव दिए  ।

नेपाल तरुण दल भारत, दिल्ली शाखाका अध्यक्ष एलपी पाण्डेले सभापतित्व गरेको प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए  भने नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण  पाण्डे र नेपाल तरुण दल भारतका अध्यक्ष राहुल रेग्मी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए  ।

तरुण दल भारतका कार्यकर्ताका एवंम् नेपाली जनसम्पर्क समिति भारतका कार्यकर्ताहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन भने प्रकाश पाण्डेले  गरेका थिए ।