चुनाव नजिकिँदैछ, तनाव बढ्दैछ- विष्णु पौडेललाई ८ काण्डको घेराबन्दी !
निर्वाचन आयोगले ३ उम्मेदवारको उम्मेदवारी खारेज गरेपछि झनै चर्चामा आएको चुनावी क्षेत्र रुपन्देही २ मा नेकपा एमालेका औपध्यक्ष विष्णु पौडेलका लागि अझै पनि चुनौती कम भएको छैन । उनलाई हराउनसक्ने केहि उम्मेदवारहरू पाखा लागेपनि उनका लागि यो क्षेत्र अझै सहज बन्न सकेको छैन ।
एमालेमा प्रभावशाली मानिने नेता पौडेल पार्टीमा थप प्रभाव जमाउन पनि जित्नैपर्ने बाध्यतामा छन् । तर परिस्थितिले भने उनलाई साथ् दिएको छैन । उनलाई टक्कर दिने गठबन्धनका उम्मेदवार राजु गुरुङ र डा. निकोलस भुसाल प्रतिस्पर्धामा छैनन् । गठबन्धनले घर चुनाव चिन्ह लिएका जनमुक्ति पार्टीका उम्मेदवारलाई सघाएको छ भने निकोलसले अझैसम्म कसलाई समर्थन गर्ने खुलाएका छैनन् ।
‘हेभि वेट’ मध्य एक्ला उम्मेदवार बनेका पौडेल मतदाताको घरदैलोमा पुग्नेदेखी असन्तुष्ट समूहलाई फकाउने अभियानमा व्यस्त छन् । स्थानीय निर्वाचनपछि पौडलमाथि देखिएको चुनौती चिर्न उनले अहिलेसम्मकै बढी मेहनत गरिरहेका छन् । पौडेलका कतिपय सहयोगीका अनुसार पौडेल शुक्ष्म तरिकाले लागिपरेका छन् । निर्वाचन नजिक आउँदै गर्दा उनी थप दवावमा देखिन्छन् । एमालेकै कतिपय नेताहरू यसपटक सघाउन नसक्ने लाइनमा उभिएका छन् ।
एकातिर गठबन्धनका कार्यकर्तामा पहिलेभन्दा अहिले समझदारी बढेको छ भने विष्णु पौडेल यस अघि मुछिएका विवादका विषय जोडतोडले उठिरहेका छन् । बुटवलमा निर्णायक मत मानिएको सुकुम्बासी बस्तीको मत यसपटक आफूलाई नआउनेमा पौडेल ढुक्क छन् । त्यसमाथि सामाजिक संजालमा देखिएको उनीप्रतिको आक्रोशले उनको पक्षमा चुनावी माहोल छैन भन्ने देखिन्छ ।
यस क्षेत्रबाट लगातार चुनाव जितेका पौडेल समूहमा आफ्नै पार्टीका कतिपय नेताहरूले सहयोग नगरेको गुनासो बढ्न थालेको छ । पौडेलका लागि मुख्य चुनौती बनेका विषय यस्ता छन् ।
प्रदेश राजधानीसँग मन्त्रीपद साटेको आरोप
नेकपा कालमा पार्टीका शक्तिशाली मानिएका नेता पौडेलले बुटवल राजधानी बनाउने निकै अडान लिएका थिए । पाँच वर्षअघिको संसदीय चुनाव होस् वा स्थानीय पौडेलको मुख्य एजेण्डा थियो बुटवललाई प्रदेशको राजधानी बनाउने। निर्वाचनपछि पनि उनले हरेकजसो सार्वजनिक कार्यक्रममा उनले बुटवलबासीलाई आस्वस्त पारे । यसैको बलमा उनले चुनाव पनि जिते, राजनीतिक फैदा पनि लिए ।
तर, तीन वर्षपछि प्रदेश सभाले प्रदेशको नामकरण लुम्बिनी राख्दै स्थायी राजधानी दाङ देउखुरी बनाउने प्रस्ताव पारित गर्यो। पार्टी केन्द्रको निर्देशन मान्दै लुम्बिनीमा एमालेका सबै सांसदले राजधानी सार्ने प्रस्तावको पक्षमा मतदान गरे। कांग्रेस मतदाताहरूले आ–आफ्नो भुगोलको पक्षमा मत दिए।
बुटवलबाट कुनै हालतमा राजधानी सार्न नदिने बताएका पौडेलले स्थायी राजधानीको दाङ सार्ने प्रस्ताव हुँदा चुपाचाप बसे। स्थायी राजधानीको प्रस्ताव पारित भएलगत्तै पौडेल अर्थमन्त्री बने। एमालेकै केहि नेताहरूले पौडेल मन्त्री बन्ने समझदारी बनेपछि राजधानीको विषय छोडेको समेत बताए । उनलाई मन्त्री पदसँग प्रदेशको राजधानी साटेको भन्दै आफ्नै कार्यकर्ताले उनलाई गाली गर्न थाले।
लगातार राजधानीको विषय उठाउने पौडेलले मन्त्री पाएपछि चुईक्क बोलेनन् । बरु आफ्नो बहाउ मात्र गरिरहे । एमालेकै कतिपय नेताहरूले उनको व्यवहारलाई अवसरबादी करार गरे ।
सुकुम्बासीलाई बारम्बार धोका
पौडेलले पटक–पटक सुकुम्बासीलाई पुर्जा दिने आश्वासन दिँदै चुनाव जितिरहे। पौडेलले तीनै तहको सरकारमा एमाले हुँदा समेत पुर्जाको विषयमा उनले कुनै ठोस कदम चालेनन । नेकपाको सरकार हुँदा बनाएको भूमि आयोगले पनि अपेक्षित काम गर्न सकेन । सुकुम्बासीहरूलाई आस्वासन मात्र बाँढ्ने, कर मात्र उठाउने गरिएपछि सुकुम्बासी क्षेत्रका मन र मत अहिले फेरिएका छन्।
यसको ज्वलन्त उदाहरण २०७७ फागुनमा अर्थमन्त्री हुँदा पौडेल लखेटिएका थिए । उद्योग मन्त्री लेखराज भट्टलाई लिएर पौडेल मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेपछि भएको तनावले अर्कै रुप लिएको थियो। शिलान्यास समारोह नसकिँदै पौडेल लखेटिनुपरेको त्यो घटनाले पौडेलप्रति सुकुम्बासीको आक्रोश निकै बढेको देखिन्छ।
आफूहरुले भोगचलन गरेको जग्गा मोतीपुर औद्योगिक क्षेत्रलाई दिइएको र आफूहरुलाई विस्थापित गर्न खोजेको भन्दै स्थानीयले शिलान्यास कार्यक्रममा ढुंगा प्रहार गरेका थिए । स्थानीयलाई चित्त नबुझाइ हतार–हतार जबरजस्ती शिलान्यास गर्न पुगेको भन्दै पौडेलको चर्को आलोचना समेत भएको थियो।
त्यसमाथि सुकुम्बासीलाई दिएको आस्वासन विपरित विष्णु पौडेलले शिलान्यास गरेको तिनाउ-दानव करिडोर पनि विवादमा परेको छ। करिडोरले सयौँ परिवार विस्थापित हुनुपर्ने भन्दै प्रभावित क्षेत्रका स्थानीयले आन्दोलन र विरोध गर्दै आएका छन्। देख्दा सामान्य देखिएपनि यो बुटवलबासीका लागि ठूलो मुद्दा बनेको छ ।
सुकुम्बासी नेताको रहिश जीवनशैली
स्याङ्गजाबाट बुटवल झरेका पौडेल आफूलाई सुकुम्बासी बताउने गरेका छन् । तर पछिल्लो समय काठमाडौंलगायत विभिन्न स्थानमा उनका अलिशान बिल्डिङ रहेको आरोप लाग्न थालेको छ । सुकुम्बासी नेताको अलिसान घर भन्दै उनको भैसेपाटीको बिल्डिङ सामाजिक संजालमा ट्रोल नै बनिसकेको छ ।
एमालेकै कार्यकर्ताहरूले उनलाई पैसामुखी बनेको आरोप लगाउन थालेका छन् । विभिन्न व्यवसायमा संलग्न भएको आरोप समेत उनीमाथि लाग्ने गरेको छ । उनको जीवनशैली पनि पहिले भन्दा निकै फेरिएको छ ।
रूपन्देहीमै पनि पार्टीका कार्यकर्तासँग भन्दा बढी उनले उद्योगी व्यवसायीलाई प्रार्थमिकता दिने गरेको आरोप लागेको छ । एक जना भुसाल थरका व्यवसायीका लागि उनले राज्यका ऐन नै परिवर्तन गराएको आरोप उनीमाथि छ ।
यससँगै उनले नम्बरी जग्गा हुँदाहुँदै विगतमा बुटवलमा सुकुम्बासीका नाममा जग्गा लिएको भन्दै समाचार सार्वजनिक भए।
बुटवलमा पाएको सुकुम्बासीको जग्गा बेचेर विभिन्न ठाउँमा किनबेच गर्दै बालुवाटारमा पनि जग्गा फेला परेको र काठमाडौंमा भव्य घर बनाएको भन्दै उनको आलोचना भएको थियो।
बालुवाटारको सरकारी जग्गा
निकै चर्चित बनेको बालुवाटार जग्गा काण्डसँगै विष्णु पौडेलको पनि खुबी चर्चा भयो । समाचार बाहिर आउँदा सबै भन्दा बढी आलोचित पनि विष्णु पौडेल नै बने । बालुवाटारस्थित ललिता निवास परिसरमा पौडेलका छोराको नाममा चारआना जग्गा रहेको भेटियो । यो समाचारले विष्णु पौडेलको राजनीतिक करिअरमै समस्या बनायो । यति सम्म की विष्णु पौडेलको फोटो देख्नेबित्तिकै सामाजिक संजालमा बालुवाटारको जग्गा खोइ भन्दै प्रश्न गर्छन ।
बालुवाटार जग्गा काण्ड सार्वजनिक भएपछि केही समय पौडेल रुपन्देहीमा देखा परेका थिएनन्। सरकारी जग्गा पौडेलको नाममा भेटिँदा पनि उनीमाथि कारबाही भने भएन । यसै काण्डमा मुछिएका केहि नेताहरू अहिले पनि मुद्दा खेपिरहेका छन् । तर एमाले अध्यक्ष केपी ओलीले पौडेलमाथि कारबाही हुन दिएनन् । बालुवाटार काण्डमा प्रत्यक्ष रूपमा जोडिएका पौडेल सबै भन्दा बढी दोषी देखिएका नेता हुन् ।
बालुवाटार जग्गा काण्डले छवि धमिल्याइँदा पनि पौडेल रुपन्देहीमा निकै कमजोर भएको बताइन्छ।
शंकर पोखरेल ‘फ्याक्टर’
लुम्बिनी प्रदेशमा एमाले महासचिव शंकर पोखरेल र विष्णु पौडेलको प्रभाव बढी मानिन्छ। पोखरेल र पौडेल पक्षका कार्यकर्ता भनेर रुपन्देहीमा समेत चर्चा हुने गरेको छ।
एमालेको उपमहासचिव र नेकपाको महासचिव हुँदा विष्णु पौडेलको केन्द्र र जिल्लामा प्रभाव बलियो थियो। लुम्बिनीको मुख्यमन्त्री बनेपछि रुपन्देहीमा समेत फैलिएको शंकर पोखरेलको प्रभाव पार्टीको दसौँ महाधिवेशनबाट एमालेको महासचिव बनेपछि झनै बढ्यो।
लुम्बिनीमा पोखरेलको प्रभाव बढ्दा पौडेलको प्रभाव कमजोर हुँदै गएको ठानिएको छ। यो स्थानीय चुनावमा रुपन्देहीको उम्मेदवार छनोटमा समेत पौडेल भन्दा पोखरेल हावी भएको चर्चा हुने गरेको छ। बुटवलका मेयरका उम्मेदवार पोखरेलको इच्छामा तय भएको चर्चा छ।
मुख्यमन्त्री भएपछि पोखरेल प्रदेशको राजधानी आफ्नो जिल्ला दाङमा लैजान सफल भए। स्थानीय चुनावमा पनि पोखरेलको गृहजिल्ला दाङमा घोराही उपमहानगर एमालेले जितिसकेको छ ।
तुल्सीपुरमा मतगणना चलिरहँदा एमाले अघि-पछि भइरहेको छ। ताजा अवस्थामा तुलसीपुरको मेयर-उपमेयर दुवैमा एमाले अगाडि छ।
तर, रुपन्देहीमा बुटवलसहित धेरै पालिकामा एमाले हारेको छ। यसबाट लुम्बिनीमा शंकर पोखरेल बलियो बन्दै जाँदा विष्णु पौडेल भने कमजोर बनेको विश्लेषण हुन थालेको छ।
संसद विघटनमा साथ
पौडेल एमालेको पछिल्लो महाधिवेशन अगाडीसम्म अध्यक्ष ओलीका अत्यन्तै निकट नेता हुन् । जनताले पाँच वर्ष सरकार चलाउन दिएको बहुमत हुँदाहुँदै ओलीले दुई दुई पटकसम्म असंवैधानिक तरिकाले संसद विघटन गरे । संसद विघटनपछि एमालेको हातबाट केन्द्रीय सरकार मात्रै होइन, सबै स्थानीय सरकार गुमाउनुपर्ने अवस्था बन्यो ।
एमालेभित्रै ठूलो समूहले ओलीको कदमको विरोध गरिरहँदा पौडेलले भने ओलीको बचाउमा मात्रै लागे । उनले संसद विघटन र ओलीको कदमलाई समर्थन गरेपछि पनि कार्यकर्ता रुष्ट बनेका छन् ।
देशको ऋण
नेकपा एमालेले सरकार चलाउनुअघि राज्यको ऋण सात खर्ब हाराहारीमा थियो । ओलीको नेतृत्वमा सरकार बनेपछि ३ वर्षमै राज्यको ऋण १६ खर्ब हाराहारीमा पुगेको थियो । यो तथ्यांक सार्वजनिक भएपछि ओली सरकार निकै आलोचित बनेको थियो ।
ओलीकै पालामा अर्थतन्त्र सम्हालेका र बजेट ल्याएका एउटा मन्त्री पौडेल थिए । राज्यको ऋणवृद्धिमा पौडेलको पनि हात रहेको भन्दै आलोचना भएको थियो । अहिले विपक्षीका लागि चुनावी मसला बनेको यो विषयमा पौडेलले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
एमालेको सरकार हुँदा विभिन्न तथ्यांक देखाएर यसलाई विशायान्तर गर्न खोजेपनि ढाकछोप गर्न नसकिने मुद्दा बनेको छ ।
बुटवलको बिजोग सडक
तिनै तहमा एमालेको दरिलो सरकार हुँदा पनि बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडकको बिजोग अवस्था थियो । यहि सडकका कारण सडकले एमालेले स्थानीय चुनाव हरेको आंकलन गरिन्छ । एमालेका मेयर शिव सुवेदीको कार्यशैलीप्रति पनि पार्टीभित्रकै कार्यकर्ता रुष्ट बनेका थिए।
तिलोत्तमामा एमालेकै मेयरले देशकै राम्रो काम गरेको भन्दै अवार्ड थाप्दा सुबेदीको भने आलोचना मात्रै भैरह्यो ।