बिष्णु पौडेलले भने : जनमत संग्रह गर्ने सहमति गरेका छैनौं
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले सिके राउतसँग सरकारले गरेको सहमतिमा प्रयोग गरिएको ‘जनअभिमत’ शब्दको अर्थ जनमत संग्रह नभएको बताएका छन्।
सरकार र सिके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रबार भएको ११ बुँदे सहमतिको २ नम्बर बुँदामा ‘नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौँ’, लेखिएको छ। तर पौडेलले त्यसको अर्थ जनमत संग्रह नभएको दाबी गरे।
‘संविधानप्रयुक्त प्रबन्धअन्तर्गत भनेर लेखिएको छ’, पौडेलले भने, ‘संविधानले जस्तो जनअभिमतको प्रबन्ध गरेको छ सोही हुने भनेर लेखिएको हो।‘
पौडेलले भनेका छन्, पहिला वंशको आधारमा राज्य व्यवस्था चल्थ्यो। अहिले जनअभिमतमा चल्छ। हामी राजतन्त्रमा छैनौँ। जनताले जाहेर गरेको इच्छा गरेको लोकतान्त्रिक प्रणालीमा अनुसारको जनअभिमत भनिएको हो।
सम्झौताको ड्राफ्टमा जनमसंग्रह लेखेर पछि जनअभिमत राखिएको हो? प्रश्नमा पौडेलले भने- जनमत संग्रह भनेर कहिले पनि लेखिएको छैन।
पौडेल सरकार र सिके राउतबीच सहमतिको घोषणा हुनुअघि बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा सहमति निर्माणका लागि भएको छलफलमा समेत सहभागी थिए।
पौडेलले मुलुक विखण्डनको अभ्यास गरेको सिके राउतको राजनीतिक अवतरण महत्वपूर्ण विषय भएको बताए।
‘जनअभिमतका लागि संविधानमा संघीय संसदको निर्वाचन, प्रदेश र स्थानीय तहको निर्वाचनको व्यवस्था छ। जनअभिमत त्यही निर्वाचनबाट प्रकट हुन्छ। संविधानमा जनअभिमतका लागि तदनुरुपको व्यवस्था गरिएको छ’, पौडेलले भने।