नेपाल छिर्ने बित्तिकै जब विरसिंह विकले बरर्र आँसु झारे…

विशाल पाण्डेय/कैलाली-
कैलालीको घोडाघोडी नगरपालिका -११ सिसैयाका २६ वर्षिय युवक धेरै धन कमाउने आशमा भारत पसे । धेरै पैसा कमाउने भन्दै करिब ४ महिना पहिला भारत पसेका उनी काम बन्द भएर भएको पैसा पनि कसरी जोगाउने भन्नेमा पुगे । उनी अर्थात् , विरसिंह विक । कारण हो , कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले काम बन्द हुनु ।
घरमा बुढा बुवाआमा ,श्रीमती लाई खुशी र छोराछोरीलाई राम्रो शिक्षा दिने आशमा पैसा कमाउन रोजगारीको लागि भारत पसेका विकले आफै पीडादायी दिनहरु बिताउन पर्यो । घर परिवारको खुशी खोज्नको लागि मिस्त्रीको काम गर्नको लागि भारत गएको थिए । विकले भने, “लकडाउनले गर्दा काम नै ठप्प हुँदा काम गरेको पैसा समेत बाँकी राखेर त्यसै हिड्नु पर्यो ।”

एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि बुधबार स्वदेश फर्किएका विक आफ्नो ठाउँमा पुग्दा निकै खुशी लागेको बताए । “३३ दिन भारतको क्वारेन्टाइनमा दुख कष्ट सहेर बस्यौं ।” ‘ढिलै भएपनि आफ्नो ठाउँमा आउन पाउँदा लागेको भोक पनि मेटिएको छ ।” विकले भने, “आफ्नै देशमा प्रवेश गर्ने बित्तिकै खुशिका आँसु झरे ।” आफ्नो गाउँ फर्किन पाउँदाको खुसीको सीमा छैन् ।”
यस्तै घोडाघोडी नगरपालिका-६ का ६७ वर्षिय अमर बहादुर नेपालीको दम्पती समेत पहिलो पटक भारत गएका थिए । मंसिरमा पहिलोपटक रोजगारी खोज्न भारत पसेका अमर बहादुर र उनकी श्रीमती लक्ष्मी पनि ३४ दिन भारतको क्वारेन्टाइनमा दुख कष्ट सहेर स्वदेश फर्किएका हुन् । उनुहरुले पनि आफ्नो ठाउँमा आउन पाउँदा निकै खुशी लागेको बताए ।

उत्तराञ्चलको ओखलढुंगामा रोजगारीका लागि गएका घोडाघोडी नगरपालिका- १ का कमल घर्तिमगर पनि धार्चुलाको क्वारेन्टाइनमा ३२ दिन बसेर फर्किए । बैतडीको झुलाघाट नाका भएर नेपाल पुगेका घोडाघोडी नगरपालिका – ४ का बहादुर साउदले पनि १६/१७ दिन क्वारेन्टाइनमा बसेर नेपाल फर्किन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
उनले भारतीय क्वारेन्टाइनमा ठिकै व्यवस्था गरेपनी बैतडीबाट अत्तरियासम्म पुग्दा गाडी वालाले मनपरि पैसा लिएको दुखेसो पोखे । उनले भने, ‘उता बाट आउदा अलिकति पैसा थियो , त्यै पनि गाडीमा थर्काएर मनपरी भाडा लिदा भएको पैसा नि सकियो ।’ पैसा नदिए गाडी जंगलमा रोकेर उतार्दिने बतायो । बाहिर पानी परिरहेको थियो बाध्य भएर पैसा दिएर अत्तरियासम्म पुगे ।’

यी त उदाहरणका पात्र मात्र हुन बिहिवार रातिसम्म महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरिएको छ । भारतको क्वारेन्टाइनबाट बिहीबार रातिसम्म बैतडी र दार्चुलाको सीमापारिबाट दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, बझाङ, अछाम, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख लगायतका जिल्लाका नागरिकहरुको उद्धार गरिएको छ ।
भारत र नेपाल दुवैतर्फ गरेर सबैको स्वास्थ्य चेकजाँच गरेपनी सम्बन्धित स्थानीय तहमा १४ दिन क्वारेन्टाइनमा राखिनुपर्ने बताइएको छ । यता घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले एक महिना भन्दा बढी भारतको क्वारेन्टाइन बसेर आएका उनिहरुलाई केहिदिन राखेर र्यापिड टेस्टमा परिक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने बताए । उनले भने, ‘उहाहरुमा कोरोना सम्बन्धि कुनै पनि लक्षण छैन ।’ अहिले किडको अभाव छ, आउने बित्तिकै परिक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछी घर पठाउने छौं ।”

शुक्रबार मात्रै दार्चुला तथा बैतडीको नाका गरि ४५ जना मानिसहरु घोडाघोडी नगरपालिकामा पुगेका छन् । ३४ दिन भारतको क्वारेन्टाइनमा बसेर आएका उनिहरुले ढिलै भएपनी आफ्नो ठाउँसम्म पुर्याएकोमा नेपाल सरकार तथा स्थानीय तहलाई धन्यवाद व्यक्त गर्दै नियम अनुसार क्वारेन्टाइनमा बस्ने बताए ।

