अरु विरोध गर्ने ठाउँ नभएपछी 'मेरो सरकार'को विरोध गरियो :प्रम ओली - Himal Post Himal Post
  • २७ मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 12 2025
Logo

अरु विरोध गर्ने ठाउँ नभएपछी ‘मेरो सरकार’को विरोध गरियो :प्रम ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न माध्यमबाट सरकारविरुद्ध भ्रम छर्ने कामहरू भइरहेको बताएका छन्। २६औं मदन आश्रित दिवसको अवसरमा मदन नगर बल्खुमा भएको श्रद्धाञ्जलिसभामा बोल्दै प्रधानमन्त्री ओलीले गलत कुराहरूको प्रचार गर्ने तर सरकारका राम्रा कामहरूको प्रचार नगरिएको भन्दै यस्ता भ्रमबाट बच्‍न कार्यकर्तालाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्ने कुनै ठाउँ नभेटिएपछि विरोधीहरू नीति तथा कार्यक्रमको विरोध गर्न केन्द्रित भएको आरोप लगाए। त्यस्तै,ओलीले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग भएको मेरो सरकार भन्ने शब्दका विषयमा बुद्धीजीवीहरूले समेत स्याल हुइँया मच्चाएको आरोपसमेत लगाए। ओलीले विभिन्न प्रतिक्रियावादी शक्तिहरूले पार्टी एकीकरण बिथोल्न खोजे पनि आफूहरू त्यस्ता भ्रम चिर्न सफल भएको दाबी छ।

ओलीले पार्टी नेताहरूले दिने अभिव्यक्तिमा पनि सजगता अपनाउन आग्रह गरे। आन्तरिक कुराहरू के हुन् भन्ने कुरामा जानकार हुन र आवेश रोक्न उनले आफ्ना नेताहरूलाई आग्रह गरे। आफ्नो पार्टीका नेताहरू पैसा कमाउनका लागि राजनीतिमा नलागेको स्पष्ट पार्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने प्रतिबद्धता व्यक्त गरे।

साथै मदन भण्डारीको विचारलाई मन्त्र वा धर्म शास्त्रका रूपमा मात्र नभई परिमार्जितरूपमा अगाडि बढाउनुपर्ने ओलीको धारणा थियो। त्यस्तै, प्रधानमन्त्री ओलीले बालुवाटारको जग्गा प्रकरणका विषय आफ्नो सरकारले छानबिन सुरु गरेको बताएका छन्। उनले आफ्नो पालामा बालुवाटारको जग्गा प्रकरणको छानबिन गर्दा उल्टै आफूहरूविरुद्ध आरोप लागेको बताए। उनले आफ्नै पालामा सुनकाण्डको पनि अनुसन्धान सुरु गरेको दाबी गरे। उनले सुनकाण्डको अनुसन्धान तथा छानबिनमा पनि आफूहरूलाई जस नदिएको आरोप लगाए।