वीरगंजमा सेना परिचालन - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

वीरगंजमा सेना परिचालन



पर्सा- कोरोना संक्रमणको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा निषेधाज्ञा लागू भएपछि नेपाली सेना परिचालन गरिएको छ।

मास टेस्टिङ्ग तथा एक घर एक पिसिआर परीक्षण अभियानलाई अगाडि बढाएसँगै पर्सामा धमाधाम कोरोना संक्रमण पुष्टि हुन थालेपछि साउन १० देखि वीरगन्ज महानगरपालिकाभित्र लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो।

त्यसपछि जिल्लाभरि नै कोरोना संक्रमितहरु बढ्न थालेपछि साउन १८ गतेदेखि पर्सा जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो।

संक्रमितको संख्या लगातार बढेसँगै जिल्ला प्रशासन कार्यालय पर्सामा शनिबार बसेको संकट व्यवस्थापन समितिको बैठकले आइतबार बिहानदेखि भदौ १३ गतेको लागि नेपाली सेना परिचालन हुनेगरी निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार साँझ करिब ६ बजे आधारिक फेसबुक पेज मार्फत् सूचना सार्वजनिक गर्दै साउन ३२ गते बिहान ५ बजेदेखि भदौ १३ गते बिहान ५ बजेसम्मका लागि सेना परिचालनसहितको निषेधाज्ञा जारी गरिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेका सूचनामा कोरोना रोकथाम नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम साउन ३२ गते बिहान ५ बजेदेखि भदौ १३ गते बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालन हुने गरि निषेधाज्ञा आदेश जारी गरिएको भन्ने उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ६ बजे सूचना जारी गरे पनि नेपाली सेना भने दिउँसो करिब २ बजेदेखि नै परिचालित छ।