सोसल मिडियामा धेरै फलोअर्स हुने पहिलो क्रिकेटर बने विराट - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

सोसल मिडियामा धेरै फलोअर्स हुने पहिलो क्रिकेटर बने विराट



एजेन्सी । भारतीय क्रिकेटरहरु खेलाडीमा मात्र सिमित नभएर सेलिब्रेटीको हैसियतमा हुने गरेका छन् । ठुलो जनसंख्या भएको भारतमा क्रिकेटरहरुको फ्यान फलोइङ पनि ठुलै हुने गरेको छ ।

यस्तो सूचीमा भने भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पहिलो नम्बरमा छन् । उनको सोसल मिडियामा फलोअर्सको संख्या १० करोड नाघेको छ । यो संख्याको फलोअर्स हुने उनी पहिलो क्रिकेटर पनि बनेका छन् ।

विराटको इन्स्टाग्राममा ३.६ करोड फलोअर्स छन् भने ट्वीटरमा २ करोड ९५ लाख छन् । त्यस्तै फेसबुकमा ३ करोड ७० लाख फलोअर्स रहेका छन् । यो आँकडा उनको आधिकारिक सोसल एकाउन्टको हो । अनाधिकृत एकाउन्टसको पनि संख्या जोड्दा यो अझै बढ्छ ।

भारतीय क्रिकेट टोलीका सफल कप्तान तथा राम्रा ब्याटसम्यान भएका कारण पनि उनको फलाअर्सको संख्या अधिक रहेको बुझिएको छ । अझ उनले चर्चित नायिका अनुष्का शर्मासँग विवाह गरेपछि उनको चर्चा झनै चुलिएको थियो ।

विराटको सोसल मिडियामा फलोअर्स धेरै हुने मात्रै होइन केहि पोष्टहरु कीर्तिमानी रुपमा चर्चित हुने गरेको छ । गतवर्षको तीजको मौकामा विराटले आफु र अनुष्काको फोटोलाई ट्वीट गरेका थिए । उक्त ट्वीटलाई दुई लाख १५ हजार जनाले मन पराएका थिए ।

सन् २०१८ मा सबैभन्दा बढि मनपराइएको पोष्ट बन्न सफल उक्त ट्वीटलाई ‘गोल्डेन ट्वीट’ को दर्जा दिइएको थियो ।

उनलाई फलो गर्नेको संख्या उल्लेख्य भएपनि विराटले इन्स्टाग्राममा जम्मा ९३ जनालाई र ट्वीटरमा ५२ जनालाई मात्र फलो गरेका छन् । इन्स्टाग्राममा सबैभन्दा बढि फलो गरिइने खेलाडी भने क्रिस्टियानो रोनाल्डो हुन् । उनलाई १६ करोड ७० लाख मानिसले फलो गरेका छन् ।