विमानस्थलमा धुँवाको मुस्लो, आपतकालीन अवतरण गरेको विमानमा के भयो ?
विराटनगर विमानस्थलको रनवेमा आइतबार बिहान ८ बजेतिर एक्कासी दन्किँदै गरेको आगोको कालो धुँवाको मुस्लोले आकाशै एकाएक कालोमैलो भएपछि सबै त्रसित भए।
लौ! प्लेनमा आगो लाग्यो भन्दै छेउछाउका मात्रै होइन विमानस्थलभित्रका कर्मचारी, प्रहरी, सेना र आगन्तु आगलागी भएको ठाउँतिर दुगुर्न थाले। विमानस्थल खुलेसँग तैनाथीका साथ रहने दमकल र एम्बुलेन्स साइरन बजाउँदै रनवेतिर दर्गन थालेपछि एकाएक विमानस्थलमा भीडभाड मात्रै बढेन, त्यहाँ एकखाले कोलाहल नै मचिन थाल्यो। विमानस्थलभित्र रहेको दमकलले रनवे क्षेत्रभित्र जहाजमा आगो लाग्यो भने १ देखि २ मिनेटभित्र पुगेर स्थितिलाई आफ्नो नियन्त्रणमा लिनु पर्ने हुन्छ।
विराटनगरबाट काठमाडौं उडेको एक्ससाइज एयर ००४ को जहाज उड्ने क्रममा चरासँग ठोक्किन गई उडेको थियो। जहाज उडे पनि केही समयपछि समस्या आएपछि पुनः विराटनगरमै आपतकालीन अवतरण गर्नुपर्ने बाध्यता आयो। जहाज उडेपछि इन्जिनमा समस्या देखिनसाथ नजिकै रहेको विराटनगर विमानस्थलमा आपतकालीन अवस्थामा अवतरण गर्नुपर्ने विमानस्थलको कन्ट्रोल रुममा चालक दलका सदस्यले खबर गरे। जहाज जबरजस्ती अवतरण गर्नुपर्ने अवस्था आएको भन्दै कन्ट्रोल रुमले त्यहाँ सबै पक्षलाई तत्कालै खबर गरेर तैनाथीका लागि आग्रह गरे।
विमानस्थलले आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सबै तयारी तत्कालै गर्यो। उडान भरेको २० मिनेटमै जहाज दुर्घटनाग्रस्त भयो। विमान चालक दलका सदस्यसहित ६८ जना यात्रु बोकेको जहाज अवतरण भएको दुई मिनेटभित्रै एक्कासी जहाजमा आगो दन्कियो र धुँवाको मुस्लो छुट्यो। जहाजमा आगो लागेको देख्नसाथ दमकल र एम्बुलेन्स त्यसतर्फ हुइँकिए। विमानस्थलमा रहेको नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी, रेडक्रस र विमानस्थलका कर्मचारी थप उद्धारका लागि इस्टे«चर लिँदै दौडन थाले। यसैबीच चारैतिर होहल्ला हुन थालेको थियो विमानस्थलभित्र जहाजमा आगो लाग्यो भनेर। प्रहरीले थप मद्दतका लागि विराटनगर महानगरपालिकाको दमकललाई समेत बोलायो।
विमानस्थलमा रहेको आधुनिक दमकल जसले एकै पटक एउटै नलबाट आगो निभाउने केमिकल र पानीको फोहरा फ्याक्न सक्छ। जसका कारण आगो नियन्त्रणमा आए पनि जहाजको केही भाग जलिसकेको थियो। दुर्घटनामा चार जना यात्रुको मृत्यु भयो भने ५ जना गम्भीर घाइतेमध्ये १ जना नोबेल अस्पताल, २ जनाको आर्या न्यूरो, १ जनाको हाम्रो अस्पताल र १ जना विराट नर्सिङ होममा उपचार भइरहेको छ। सामान्य घाइतेहरुको विराटनगरका विभिन्न अस्पतालमा उपचारपछि उनीहरुलाई आफन्तको जिम्मा दिएको छ। मृतकको शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल लगिएको विमानस्थका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए।
यो दृश्य वास्तविक नभई विराटनगर नागरिक उड्डयन प्राधिकरणले जहाज दुर्घटना भएका बेला हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिएको उद्धारको पूर्व अभ्यास मात्रै थियो। सबै जनालाई बिना पूर्व सूचना गरिएको अभ्यासका कारण त्यहाँको वातावरण त्रासपूर्ण बन्नुका साथै विमानस्थल वरपरका स्थानीय आत्तिएका थिए।
‘विमानस्थलमा संकट योजना पूर्णकालीन अभ्यास गरेका हौं,’ विराटनगर विमानस्थलका प्रमुख उसवराज खरेलले भने, ‘विमानस्थलमा यस्तो अभ्यास प्रत्येक दुई वर्षमा गर्ने गरेका छौं।’ विमानस्थलभित्र जहाज दुर्घटना भएको खण्डमा मानवीय र भौतिक क्षति न्यूनीकरण तयारीको स्तर, अवस्थालाई बढाउन र उद्धारलाई प्रभावकारी बनाउन तथा उद्धारकर्मीको क्षमता बढाउन पनि पूर्व अभ्यासले महत्वपूर्ण हुने खरेलले बताए।