अरुलाई पक्राउ गरे पनि विप्लवलाई नपक्रनुको कारण यस्तो ! - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

अरुलाई पक्राउ गरे पनि विप्लवलाई नपक्रनुको कारण यस्तो !



काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता देशभरबाट पक्राउ परिरहेका छन् ।

फागुन अन्तिम साता सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहका कार्यकर्ता पक्राउ नपरेको दिन छैन ।

हालसम्म प्रहरीले विप्लव समूहका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली, पोलिट्ब्युरो सदस्य मोहन कार्की, कोसी ब्युरो प्रमुख पुष्कर श्रेष्ठसहित दुई सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । तर, विप्लव भने कहिले कता र कहिले कता हिंडिरहेका छन् ।

गत साता सिन्धुलीमा रहेका विप्लव यो बीचमा पैदल मार्गबाटै गृहजिल्ला कपिलवस्तु पुगे । त्यहाँ दुई दिन बसेर उनी सप्तरी पुगे । कडा सुरक्षा तैनाथीबीच सरकारद्वारा प्रतिबन्धित समूहका मुख्य नेता राजमार्ग प्रयोग गरेर खुलेआम यात्रा गरिरहेका छन् । विप्लव समूहका सामान्य कार्यकर्ता र शुभचिन्तकलाई समेत नछाडेको प्रहरीले विप्लव स्वयंलाई भने किन देखेको नदेखोजस्तो गरिरहेको छ भन्ने प्रश्न उठेको छ ।

लगाएर वार्तामा ल्याउने रणनीति

सरकारले विप्लवबाहेक भेटेजति सबैलाई पक्राउ गरेर अन्तिममा उनलाई गलाएर वार्तामा ल्याउने रणनीति बनाएको देखिन्छ । सशस्त्र समूहहरुसँग वार्ता गर्न गठित सरकारी टोलीका संयोजक एवं सत्तारुढ नेकपा सांसद सोमप्रसाद पाण्डे वार्ताको वातावरण बनाउन भित्रभित्रै सक्रिय छन् । उनले केही दिनअघि विप्लव समूहसँग वार्ताका लागि आफूले पहल गरिरहेको र सो समूहका नेता आफ्नो सम्पर्कमा रहेको बताएका थिए । गृहजिल्ला तेह्रथुममा शुक्रबार एक कार्यक्रममा सहभागी हुने क्रममा नेकपाका प्रभावशाली युवा नेता योगेश भट्टराईले विप्लव समूहसँग वार्ताको वातावरण बनिरहेको बताए ।

नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले समेत विप्लव समूहसँग वार्ता गर्नुपर्ने भन्दै यदि आफूलाई मध्यस्थकर्ताको जिम्मेवारी दिए उक्त जिम्मेवारी सम्हाल्न तयार रहेको अभिव्यक्ति दिँदै आएका छन् । यस्तो पृष्ठभूमिमा सरकारले विप्लवमाथि दबाब सिर्जना गरेर सिके राउतलाई जसरी आकस्मिक रुपमा मुलधारको राजनीतिमा ल्याउन सकिन्छ कि भन्ने रणनीति बनाएको छ ।

‘विप्लवलाई थकाएर अन्ततः वातामार्फत मुलधारको राजनीतिमा ल्याउने नै हो’, प्रधानमन्त्रीनिकट नेकपामा एक नेताले भने, ‘अरुलाई पक्राउ गरे पनि विप्लवलाई नपक्रनुको कारण त्यही हो । उनका अनुसार विप्लवका सबै गतिविधिबारे सुरक्षा संयन्त्र जानकार छ र नजिकबाट सुक्ष्म निगरानी गरिरहेको छ । तर, उनलाई पक्राउ नगरी वार्ताको वातावरण बनाउने रणनीतिमा सरकार छ ।