विप्लवलाई दबाउनु उपयुक्त हैन :नेता कोईराला
घोराही– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दबाउनु उपयुक्त नभएको बताएका छन् ।
प्रेस युनियन दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले वार्ता र छलफलबाट समाधान खोज्नुको साटो दबाउने र प्रतिबन्ध लगाउने काम उचित नभएको बताए ।
विखण्डनकारी सिके राउतसँग वार्ता गर्ने सरकारले चन्दलाई प्रतिबन्धित गर्नु गलत कदम भएको उनले बताए । १२ वर्ष युद्ध गरेको तत्कालीन माओवादीलाई वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउन सकेको सन्दर्भ उल्लेख गर्दै कोइरालाले अहिले चन्दलाई पनि आतंकित नपारेर छलफलमा ल्याउन सक्नुपर्ने धारणा व्यक्त गरे ।
दमनकारी राजनीति २१ औं शताब्दीमा नसुहाउने विचार व्यक्त गर्दै कोइरालाले समाधानको उपयुक्त माध्यम वार्ता र छलफल नै भएको बताए ।
सरकारका कामहरु जबरजस्ती, स्वेच्छाचारी र दमनकारी भैरहेको उनले बताए । यस्ता क्रियाकलापले मुलुकमा अस्थिरता बढ्ने उल्लेख गर्दै कोइरालाले सबै असमझदारी र असन्तुष्टीलाई मेलमिलाप पूर्ण वातावरणबाट सम्बोधन गर्नुपर्ने सुझाव दिए ।