सरकारको कदममा विप्लवको साथ : प्रधानमन्त्रीको यसरी गरे प्रशंसा
काठमाडौँ – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको बताएका छन् ।
आइतबार एक वक्तव्य जारी गर्दै विप्लवले जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार अतिक्रमित भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको बताएका छन् । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको उल्लेख गरेका छन् ।
‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् । उक्त जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ’, विल्पलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
विप्लवले नक्सा जारी गरेर मात्रै नहुने बताउँदै उक्त भूभागहरु नेपालको प्रत्यक्ष स्वामित्वमा लिनका लागि अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।
‘हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौँ’, उनले भनेका छन् ।
विप्लवले आम नागरिकलाई पनि सरकारको मुख नताकेर देशको सार्वभौमिकता र स्वाधिन्ताको पक्षमा हरदम जागरुक रहन अनुरोध गरेका छन् ।
‘हाम्रो पार्टी देशमाथि कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रबद्धता स्पष्ट गर्न चाहन्छ,’ वक्तव्यमा उल्लेख छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव शनिबार प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको थियो ।