विप्लवद्वारा व्यापारी अजेय सुमार्गीको जग्गा कब्जा - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

विप्लवद्वारा व्यापारी अजेय सुमार्गीको जग्गा कब्जा



सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले व्यापारी अजेयराज सुमार्गीको २५ रोपनी जग्गा कब्जा गरेको छ ।

विप्लव नेकपाको कास्की जिल्ला समितिले पोखरा महानगरपालिका–३२ सुमार्गीको नाममा रहेको १७ कित्ता जमिन कब्जा गरेको हो । शनिबार विज्ञप्ति मार्फत विप्लव समूहले सुमार्गीको २९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ५७१६, २१६७, २१७१, २१७५, २६३ ५, २८९६, २८९९ जग्गा कब्जा गरेको हो ।

विप्लव नेकपाले उक्त जग्गा सुमार्गीले जालसाँजी गरेर हडपेको आरोप लगाएको छ । विज्ञप्तिमा सोवासचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको उक्त जग्गा सिग्देल परिवारले पोखरा–१२ का बद्री आचार्यलाई एक करोड रुपैयाँमा बन्धकी दिएकामा आचार्यले सुमार्गीका नाममा पास गरिदिएको दाबी गरिएको छ । आचार्यले २०७१ असार २६ मा सुमार्गीको मुक्तिश्री प्रालिलाई दुई करोडमा बिक्री गरेको दाबी विप्लव समूहको छ ।

पीडित परिवारले आफ्नो जनपरिषदमा निवेदन दिएको र छानबिनपछि जग्गा कब्जा गरिएको विज्ञप्तिमा छ । विज्ञप्तिमा उक्त जग्गा भोगचलन तथा बिक्री नगराउन नापी, मालपोत र व्यवसायीलाई चेतावनी दिइएको छ । जग्गाको कम्पाउण्डमा झण्डा गाडिएको छ ।