चुनाव समाधान होइन, अब जनमत संग्रह: विप्लव
काठमाडौँ- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको सरकार चल्न नसक्नु र असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको जनाएको छ । प्रतिनिध सभा विघटनपछि पार्टीका महासचिव चन्दले एक विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन भन्ने पार्टीको निष्कर्ष सही साबित भएको बताएका छन् ।
आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान दिनुपर्ने चन्दको भनाइ छ । अब जनमतसङ्ग्रहका लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने आफूहरू संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट स्पष्ट पारेका छन् ।
‘२०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैँन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही साबित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुई तिहाइको मतसहित बनेको सरकार चल्न नसक्नु र मध्यावधि चुनावमा जानुपर्ने बाध्यता कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो ।’
उनले अब वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्ने समेत बताएका छन् । ‘फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र सङ्कटमा धकेल्ने चाल मात्र हुन्छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ । त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसङ्ग्रहका लागि राजनीतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौं ।’
