विप्लवविरुद्ध सरकार झनै आक्रामक: अब के होला ? - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

विप्लवविरुद्ध सरकार झनै आक्रामक: अब के होला ?



सुर्खेत – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

कालिकोट जिल्लाको कालेखोला र मान्म सदरमुकामस्थित नापी र मालपोत कार्यालयको प्राङ्गणमा गत साउन २९ गते प्रेसर कुकर बम विस्फोट गरी २ जना घाइते बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय कालीकोटले ‘विप्लव’ सहित ११ जनाविरुद्ध जिल्ला अदालत कालिकोटमा मुद्दा दर्ता गराएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद शर्माले जिल्ला प्रहरी कार्यालय सुर्खेतले बम विस्फोट गर्दा रंगेहात समातिएका कासे दर्जीको बयान अनुसार ११ जनाविरुद्ध संगठित अपराध, हातहतियार खरखजाना र विस्फोटक ऐन बमोजिम सजाय पाउने गरी मुद्दा दर्ता गरिएको बताए ।

उनका अनुसार केन्द्रीय महासचिव विप्लव, पोलिटब्यूरो सदस्य भरतबहादुर बम ‘रणवीर’, कर्णाली प्रदेश इन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य धिरेन्द्र उपाध्यायका नाममा मुद्दा दर्ता गरी वारेन्ट जारी गरिएको छ । नेकपा जिल्ला कमिटी अध्यक्ष लोकजंग शाही ‘समर’, कमल शाही ‘कञ्चन’, अनेमसंघ जिल्ला अध्यक्ष शान्ति विक ‘क्रान्ति’, अनिपाल विक र कासे दर्जीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले दर्जी र अनिपाललाई नियन्त्रणमा लिइसकेको छ भने अन्यको खोजी कार्य जारी रहेको डीएसपी शर्माले बताए । ‘हामीले टोली नै परिचालन गरिरहेका छौं,’ उनले लोकान्तरसँग भने, ‘हामी जनतालाई त्रसित बनाउनेलाई कानूनी कठघरामा उभ्याउन कुनै कसर बाँकी राख्नेवाला छैनौं ।’