सरकार र विप्लव नेकपाबीच तीनबुँदे सहमति
काठमाडौँ- सरकार र प्रतिवन्धित नेपाल कम्युनिष्ट नेकपाबीच सहमति भएको छ । सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।
सहमतिको विस्तृत विवरण भोली २ बजे राष्ट्रिय सभा गृहमा एक विशेष समारोह गरेर सार्बजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिए ।
कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । सहमतिअनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा समेटिएको छ ।
यसअघि हिजो सरकार र विप्लव समूहबीच तीन चरणमा वार्ता भएको थियो । मंगलबार सरकार र विप्लव समुहले वार्ता गर्न आआफ्नो पक्षबाट वार्ता टोली गठन गरेको सार्बजनिक गरेका थिए । वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई तथा विप्लव समुहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने दीपक थिए ।