सरकारविरुद्ध योजनावद्ध प्रतिरोधको प्लानमा विप्लव - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

सरकारविरुद्ध योजनावद्ध प्रतिरोधको प्लानमा विप्लव



काठमाडौं : भूमिगत अवस्थामा रहेको प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्को नेकपाले सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ।

आफ्ना उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतकै ठाउँबाट गिरफ्तार गरेको भन्दै नेकपा महासचिव विप्लवले आक्रोश व्यक्त गरेका छन्। महासचिव विप्लवले सोमबार विज्ञप्ति निकालेर सरकारले सांगठनिक कामका क्रममा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा संकटकाललाई बिर्साउने गरी लामालाई गिरफ्तार गरेकोमा भर्त्सना गरेका छन्।

‘लोकप्रिय जनकलाकार तथा भ्याली इन्चार्ज लामासहित जेलमा रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ लगायत सबै राजबन्दीलाई बिनासर्त रिहा नगरे योजनावद्ध प्रतिरोधमा उत्रिन्छौँ’, विप्लवले भनेका छन्, ‘केपी-बादल प्रशासनले एकातिर वार्ताको कु-प्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हानिरहेको छ। यसले सरकार शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेल्न खोजेको पुष्टि हुन्छ।

सरकारको गतिविधिले देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको बुझ्न सकिन्छ।’ उनले अब सरकारविरुद्ध नयाँ प्रतिरोधमा उत्रिन ढिला भइसकेको जिकिर गरेका छन्।

‘यदि यो सरकारले सुदर्शन लगायतका जेल चलान गरिएका सबै नेताहरु र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेकालाई बिनाशर्त रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुनेछ’, उनले भनेका छन्, ‘यसबाट निस्कने प्रतिफलको भागेदार स्वयम् यो सरकार हुनेछ ।’