आक्रामक बन्दै विप्लव समूह : यस्तो छ अबको योजना ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

आक्रामक बन्दै विप्लव समूह : यस्तो छ अबको योजना !



काठमाडौं— सरकारबाट प्रतिबन्धको घोषणा आएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीले थप आक्रामक बन्ने निर्णय गरेको छ । सरकारबाट प्रतिबन्धित घोषणा भएपछि केही दिन सेलाएको पार्टीले अब आक्रामक रुपमा अगाडि बढ्ने रुपरेखा तयार पारेको विप्लव पार्टीका एक नेता बताउँछन् ।

उनका अनुसार यसका लागि अब उनीहरुले गाउँगाउँमा र स्थानीय तहमा समानान्तर सरकारको अभ्यास सुरु गर्ने भएका छन् । यसको अभ्यास पश्चिम नेपालका जिल्लाहरुबाट सुरु भइसकेको विप्लव पार्टीका ती नेता बताउँछन् । ‘हामीले पश्चिम नेपालका केही जिल्लाहरुमा यसको अभ्यास सुरु गरिसकेका छौँ,’ उनले भने, ‘जनसरकार राज्यको निगरानी गर्न कडा रुपमा प्रस्तुत हुँदैछ ।’ यसको स्वरुप तत्कालीन माओवादी सशस्त्र युद्धको जस्तै हुने उनले बताएका छन् ।

‘सरकारले प्रतिबन्ध नै लगाएपछि यसको अर्को विकल्प थिएन,’ उनले भने, ‘हामी गाउँगाउँमा जनअदालत पनि स्थापना गरेर छाड्ने छौँ ।’ तर, यसको स्वरुप कस्तो हुने भन्नेबारे उनले केही बताएनन् ।

तर, अब चन्दा संकलन बढाउँदै लैजाने उनले बताए । त्यसलाई उनले चन्दा भने भनेनन् । ‘त्यो चन्दा नै होइन,’ उनले भने, ‘जसरी सरकारलाई जनताले कर बुझाइरहेका छन्, जनसरकारलाई पनि उनीहरुले कर तिर्नेछन् ।’ स्थानीय तहमा व्यापक भ्रष्टाचार बढेको भन्दै त्यसलाई रोक्ने आफ्नो प्रमुख उद्देश्य भएको पनि उनले बताए ।

विप्लवको यस्तो घोषणाले स्थानीय प्रतिनिधि त्रसित बनेको जिल्ला प्रशासन कार्यालय तथा स्थानीय निकायका मिटिङहरुमा उजुरी बढ्न पनि थालेका छन् ।