नेकपाभित्रै विप्लवको पक्षमा बहुमत बन्यो : अब के गर्लान ओली ? - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

नेकपाभित्रै विप्लवको पक्षमा बहुमत बन्यो : अब के गर्लान ओली ?



नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सत्तारुढ नेकपा केन्द्रीय सचिवालयका बहुमत सदस्यहरुले असन्तुष्टि जनाएका छन्।

यति गम्भीर राजनीतिक विषयमा पार्टीभित्र कुनै सल्लाह नगरी सरकारले निर्णय गरेको भन्दै नेकपाका शीर्ष नेताहरुले असन्तुष्टि जनाएका हुन्।

स्रोतका अनुसार, सरकारको निर्णयका सम्बन्धमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार बिहान खुमलटारस्थित निवासमा केन्द्रीय सचिवालयका सदस्यहरु भेला भएका थिए।

प्रचण्ड निवासमा भएको भेलामा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए।

प्रम ओली निकट भनेर चिनिएका उपप्रम तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल भने सो छलफलमा सहभागी थिएनन्।

यसैगरी विदेश भ्रमणमा रहेकाले गृहमन्त्री रामबहादुर थापा (बादल) पनि प्रचण्ड निवासमा भएको भेलामा सहभागी थिएनन्।

स्रोतका भनाईमा, गम्भीर रुपमा वार्ताको आव्हान नै नगरी विप्लव समूहलाई प्रतिबन्ध लगाइएकोमा अध्यक्ष प्रचण्ड पनि सन्तुष्ट छैनन्।

नेकपा केन्द्रीय सचिवालय ९ सदस्यीय छ। तीमध्ये अध्यक्ष प्रचण्डसहित ५ जना बुधबार विहानको भेलामा सहभागी थिए।