विप्लवले खुलामञ्चमा संवोधन गर्ने, वैद्यलाई पनि निम्तो ! - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

विप्लवले खुलामञ्चमा संवोधन गर्ने, वैद्यलाई पनि निम्तो !



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ।

भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो। सभामा १ लाख बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ। यो खबर आजको समाचारपत्र दैनिकमा प्रशान्त ओलीले लेखेका छन्।

हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । केही दिनअघि नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो।

आमसभाका लागि प्रचार–प्रसार कार्यक्रम अन्तर्गत पर्चा, पम्प्लेट वितरण, माइकिङलगायतका कामहरु भइरहेको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले जानकारी दिए।

उनले भने, ‘पर्चा, पम्पप्लेट वितरण भइरहेको छ । खुलामञ्चमा कार्यक्रम हुन्छ । तयारी सबै करिब करिब पूरा भएको छ । युवाहरु समेत कार्यक्रमको सुरक्षाका लागि परिचालन गर्छौं।’
दलाल सत्ताको विरोध, वैज्ञानिक राज्यसत्ताको स्थापना र वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल हुने क्रान्तिकारीका महासचिब शाहीले बताउनुभयो ।

नेकपाले मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीलाई भने सभामा आमन्त्रण गर्ने भएको छ । सो सभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगरलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक हौं, वैज्ञानिक समाजवादका लागि संघर्ष गरौं भन्ने उद्देश्यका साथ सभाको आयोजना गर्न लागिएको हो । पार्टी पुनःस्थापना भएको अवसरमा जनसभा गर्न लागेको बताइएको छ ।

सो पार्टीले एकीकृत जनक्रान्तिको लक्ष्य राखेको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई कडा निगरानीका रुपमा राखेको छ । केही समय अघि सो पार्टीका केन्द्रीय स्तरका अधिकांश नेतालाई प्रहरीले चन्दा असुली गरेको आरोपमा पक्राउ गरेको थियो ।

सरकारद्वारा गठित वार्ता समितिले वार्ताको लागि भन्दै विप्लवका नेताहरुलाई नपक्रन आग्रह गरेपछि नेकपाका प्रवक्ता प्रकाण्डलगायतका नेताहरु रिहा भएका थिए ।