बेपत्ता पारिए विप्लवका कार्यकर्ता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

बेपत्ता पारिए विप्लवका कार्यकर्ता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग



काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पक्राउ परेका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरको छ। जिल्ला अदालत सुनसरीबाट प्रहरीले नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ५ कार्यकर्ताको अवस्था सार्वजनिक नगरेको भन्दै आयोगले घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

प्रहरीले सुनसरी जिल्ला अदालतबाट सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई नियन्त्रणमा लिएर अवस्था सार्वजनिक नगरेको भन्दै आयोगमा निवेदन दर्ता भएको थियो।

आइतबार अदालतबाट रिहा भएलगत्तै नेकपाका ५ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको देखिएको आयोगले जनाएको छ। सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमरियाले ५ व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै सो काम झापा जिल्ला प्रहरी प्रमुख विष्णुकुमार केसीले गरेको बताएका थिए। तर, झापाका प्रहरी प्रमुखले नेकपाका ५ कार्यकर्तालाई पक्राउ नगरिएको जानकारी दिएपछि उनीहरुको अवस्था अज्ञात रहेको आयोगले जनाएको छ।

सो सम्बन्धमा लिखित जानकारी माग गर्दै आयोगको विराटनगर कार्यालयले आजै सम्बन्धित सुरक्षा निकायमा पत्राचार गरेको छ।

आयोगले पक्राउ परेका व्यक्तिको अवस्था अविलम्व सार्वजनिक गर्न सम्बन्धित प्रहरी कार्यालयलाई आग्रह गरेको छ।

व्यक्तिको मानवअधिकारको सम्मान र संरक्षणको सुनिश्चितताका लागि मातहतका निकायलाई निर्देशन दिन सरकार र नेपाल प्रहरीलाई आयोगले आग्रह गरेको छ।