नागरिकता अध्यादेश फिर्ता लिन विप्लव नेकपाको चेतावनी - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

नागरिकता अध्यादेश फिर्ता लिन विप्लव नेकपाको चेतावनी



काठमाडौं- नागरिकता सम्बन्धी अध्यादेशको चौतर्फी विरोध भैरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नागरिकता सम्बन्धी अध्यादेश फिर्ता लिन सरकारलिई चेतावनी दिएको छ ।

महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गरी नागरिकतासम्बन्धी अध्यादेश जारी भएकोप्रति आफ्नो ध्यानाकर्ष भएको भन्दै तत्काल फिर्ता लिन माग गर्दै चेतावनी दिएका हुन् ।

‘पहिलो विषय यो संविधान जारी गर्दा नै नागरिकतासम्बन्धी कैयौँ गलत एवम् त्रुटिपूर्ण प्रावाधानहरू रहेकोबारे हामीले त्यतिबेलै विरोध राखेका थियौँ । हरेक नेपाली नागरिकले सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार हो र त्यो सुविधा पाउनुपर्छ भन्ने हाम्रो धारणा छ,’ उनले भनेका छन् ।

विप्लवले सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्न लिने यस्ता निर्णयको मूल्य सिंगो देशले चुकाउनु पर्ने पनि चेतावनी दिएका छन् ।

‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।