‘विप्लव’बारे ओली प्रचण्ड र बादल नै विभाजित

काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी बारे सत्तारुढ दल नेकपा नै स्पस्ट नभएको प्रस्ट भएको छ । विप्लवले बन्द आयोजना गरेको अघिल्लो दिन हिंसात्मक गतिबिधि गरेपछि यो समुहको बिरोध भैरहेको छ भने सत्तारुढ नेकपामा तीन ओटा धार देखिएको छ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बादल नै अलग अलग धारमा देखिएपछी विप्लबबारे सरकारको स्पस्ट धारणा नभएको प्रस्ट भएको छ ।
प्रधानमन्त्री ओलीले ‘विप्लव’ समूहलाई प्रतिबन्ध एवं कारबाही गरेरै ठेगान लगाउने वा गलाउने पक्षमा रहेको खुलेको छ । सोमबार राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहप्रति लक्षित गरी आतंककारीको संज्ञा के मागेको भन्दै प्रश्न गरे। यसले प्रधानमन्त्रीको विप्लवप्रतिको धारको रुप देखाएको छ ।
प्रधानमन्त्री ओलीले विप्लव समूहको गतिविधि पैसा उठाउनु बाहेक अरु केही नभएको भन्दै विप्लवलाई नियन्त्रण गरिने प्रतिवद्धता व्यक्त गरे।
तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने विप्लव समूह वार्ताका लागि तयारी गरिरहेकोले वार्ता गर्नु पर्ने बताएका छन्।
नेकपाभित्रैको अर्को धार अर्थात् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने विप्लव समूहसँग वार्ता भइरहेको र वार्ताकै माध्यमबाट समस्या समाधान गरिने बताएका छन्। अर्थात् बादल विप्लव विरुद्ध कडारुपमा प्रस्तुत हुनुभन्दा पनि वार्ताको सूत्र अपनाउने पक्षमा छन्।
आइतबार साँझ उपत्यका क्षेत्र र सोमबार बिहानैदेखि विभिन्न क्षेत्रमा बम आतङ्क मच्चाई रहेका विप्लव समूहका बारे अध्यक्ष प्रचण्डले विराटनगरमा वक्तव्य दिए। विप्लव समूह वार्ताका लागि तयारी गरिरहेको बताउँदै उनी वार्ताको पक्षमा देखिए।
विराटनगरमा प्रचण्डले भने,‘साथीहरू कहिले यता विस्फोट भयो, कहिले कता पड्कियो भनेर मलाई सोध्नुहुन्छ। मेरो उत्तर के छ भने यो उहाँको वार्तामा आउने तयारी हो।’
यता सङ्घीय संसद्को प्रतिनिधि सभामा विप्लव समूह र काठमाडौँ उपत्यकामा भएको घटना बारे गृहमन्त्री बादलले जानकारी दिए। संसदलाई जानकारी दिने क्रममा गृहमन्त्री बादलले विप्लव समूहको शक्तिका बारे पनि चर्चा गरे। अर्थात् उनले विप्लव समूह शक्तिशाली भएको, सेना तयार पारेको, संठित भएको दर्साउन खोजे।
विप्लव समूह शक्तिशाली भएकोले उनीसँग वार्ता गरेरै समस्याको समाधान गर्नु पर्ने गृहमन्त्री बादलको आशय थियो।
संसद्मा गृहमन्त्री बादलले भने,‘विप्लव समूहलाई सरकारले राज्यले नियन्त्रण गर्ने, र वार्ताद्वारा, एउटा संवादद्वारा मूल प्रवाहमा ल्याउने प्रक्रियालाई अगाडि बढाइराखेको छ। यो प्रक्रियामा सरकार अगाडि नै बढिराखेको छ। यो समूहलाई मूलधारमा ल्याउन र यिनीहरूका गतिविधिहरूलाई नियन्त्रण गर्न राज्य प्रतिबद्ध छ।’
तर, गृहमन्त्री बादलको प्रतिबद्धता लगतै प्रधानमन्त्री ओली निटक एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाको प्रतिक्रिया फरक आयो। मन्त्री बास्कोटाले विप्लव समूहमाथि कारबाही गरेरै नियन्त्रण गर्नु पर्ने प्रतिक्रिया दिए।
सङ्घीय संसदबाट बाहिरिने क्रममा मन्त्री बास्कोटाले भने,‘विप्लव समूहले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि हट्दैन। मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व सरकारको भएकाले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्नुको विकल्प छैन।’

