बास्कोटाले विप्लवलाई भने : लुटेराहरुले लुट्न नपाएर बम पड्काए - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

बास्कोटाले विप्लवलाई भने : लुटेराहरुले लुट्न नपाएर बम पड्काए



काठमाडौं -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विप्लव माओवादीप्रति कडा टिप्पणी गरेका छन्।

राष्ट्रिय सभागृहमा आयोजित १२औँ अन्तर्राष्ट्रिरय सगरमाथा दिवसमा बुधबार बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले वार्तामा बोलाउँदा पनि हिंसातिर लागेको आरोप लगाएका हुन्।

केही दिनअघि उपत्यकामा भएको बम विस्फोटनतर्फ संकेत गर्दै मन्त्री बाँस्कोटाले भने, ‘लुट्न मात्रै पल्किएका लुटेराहरुलाई वार्तामा बोलाइँदा लुट्न पाइएन भनेर हिंसातिर लागेका छन्।’ नेपालमा हिंसा अनुचित रहेको भन्दै उनले बल्ल बल्ल तंग्रिएको देशमा हिंसाले पर्यटक आगमनमा असर गर्ने टिप्पणी गरे।

‘सगरमाथा संरक्षण सरकार र अन्तर्राष्ट्रिय समुदायको दायित्वभित्र’
यसैबीच, मन्त्री बाँस्कोटाले विश्वकै अग्लो हिमाल सगरमाथाको संरक्षणको दायित्व नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायको भएको बताएका छन्। पछिल्लो समय पर्यटक भित्र्याउने कामसँगै सगरमाथा संरक्षणको दायित्व पनि बढेको उल्लेख गरे।
उनले सगरमाथा सुरक्षाको चुनौती बढेकोले सबैले गम्भीरता देखाउन आवश्यक भएको बताए।

त्यस्तै सोही कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले सगरमाथा आरोहणका क्रममा मृत्यु हुनुको कारण पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन्। सगरमाथा आरोहणमा मात्रै यस वर्ष १० जनाको मृत्यु भएको छ भने हिमाल आरोहणमा मृत्यु हुने संख्या १९ पुगिसकेको छ। कार्यक्रममै उम होंग गिल फाउन्डेसन कोरिया र पर्वतारोहण संघबीच मनाङमा पर्वतारोहणसम्बन्धी विद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

यसैबीच, तीन आरोही सम्मानित भएका छन्। उनीहरुलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार समेत प्रदान गरिएको छ। सम्मानित हुनेमा महिला आरोही माया शेर्पा, पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठ, कोरियन नागरिक उम होंग गिल रहेका छन्। उनलाई राष्ट्रिय सगरमाथा पुरस्कारस्वरुप नगद १ लाख र प्रमाणपत्र प्रदान गरिएको हो।

उनले नेपालका ८ हजारभन्दा माथिका १४ हिमालको आरोहण गरिसकेका छन्। शेर्पाले सगरमाथादेखि अन्य हिमालको आरोहण गरेकी छिन् भने उनी केटु हिमाल आरोहण गर्ने प्रथम महिला आरोही समेत हुन्।

अस्ट्रेलियाका एन्थोनिक गोडनले समेत तेन्जिंग हिलारी पुरस्कार पाएका छन्। गोडन हिमाली क्षेत्रमा रेस्क्युका लागि प्रख्यात छन्। उनले सन् २०१६ मा धेरै आरोहीको उद्धार गरेका थिए। त्यस्तै सन् २०१८ मा एकै सिजनमा तीनवटा हिमाल आरोहण गर्ने निमा गांग्बु शेर्पालाई पनि सम्मान गरिएको छ। उनले १४ मेमा सगरमाथा, २५ अप्रिलमा ल्होत्से र २३ नोभेम्बरमा कञ्चनजंघाको आरोहण गरेकी थिइन्।