टाढिँदै विप्लव, अब वार्ता असम्भव - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

टाढिँदै विप्लव, अब वार्ता असम्भव



काठमाडौं । हिंसात्मक बाटो त्यागेर शान्तिपूर्ण राजनीतिको बाटो स्वीकारे सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई वार्ताका लागि स्वागत गर्ने बताइरहेका बेला नेकपाले भने तत्काल वार्ता असम्भव रहेको बताएको छ ।

सरकारले गत २८ फागुनमा विध्वंसात्मक शक्तिको उपमा दिँदै राजनीतिक रूपमा प्रतिबन्ध लगाएको दल नेकपाले वर्तमान संसदीय व्यवस्था कायम रहँदासम्म सरकारसँग वार्ता असम्भव रहेको र प्रतिबन्ध हट्दैमा वार्ता सम्भव नहुने बताएको हो ।

‘प्रतिबन्धको विषय गौण हो, हामी वार्ता विरोधी पनि होइनौं, संसदीय व्यवस्थाको खारेजी र वैज्ञानिक समाजवादका लागि सरकार तयार नहुँदासम्म प्रतिबन्ध फुकाउँदैमा वार्ता हुँदैन,’ प्रतिबन्धित नेकपाका ब्युरो सदस्य प्रकाश शाहीले राजधानीसँग भने ।

संसदीय व्यवस्थाको खारेजी मूल एजेन्डा

उनले आफ्नो दलको मूल एजेन्डा नै वर्तमान संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना रहेको भन्दै आफ्ना एजेन्डामा सहमति भए मात्र वार्ता हुन सक्ने बताए ।
नेता शाहीले वर्तमान संविधानमा आफ्नो दलको फरक मत कायम रहेको तर सरकारमा नै रहेको दलसमेतको सहभागितामा बनेको संविधानको सरकार आफैंले उल्लंघन गरेको समेत दाबी गरे ।

‘संविधानमा हाम्रो त फरक मत छ नै तर सरकार आफंैले बनाएको संविधान उल्लंघन गर्दै छ, संविधानमा शान्तिपूर्ण रूपमा आफ्ना कुरा जनताबीच राख्ने संविधानमै लेखिएको विषयमाथि कुल्चेर सरकारले हामीलाई प्रतिबन्ध लगाएको छ, सरकार दमनमा उत्रिएको छ,’ शाहीले भने ।

सरकारले नख्खुमा सर्वसाधारण नागरिकको ज्यान जानेगरी भएको बम विष्फोटको घटनापछि विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले हिंसात्मक बाटोबाट कुनै पनि राजनीतिक माग पूरा नहुने भन्दै वार्ताका लागि आए स्वागत गर्ने तर हिंसाको बाटोमा लाग्ने जो कुनै समूहलाई पनि छुट नहुने बताउँदै आएको छ ।

नेकपाका अर्का एक नेताले भने सरकारसँग वार्ताका लागि कुनै समन्वय नभएको जानकारी दिए । ती नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सरकारले वार्ताका नाममा हावादारी हल्ला फैलाएको छ, यही अवस्थामा वार्ता हुँदैन ।’

ती नेताले आफ्नै दलबाट सरकारसँग वार्ताका लागि आएको दबाबका विषयमा राखिएको जिज्ञासामा भने सो विषय पार्टीको आधिकारिक धारणा नभएको र केही व्यक्तिले व्यक्तिगत रूपमा राखेको धारणा हुन सक्ने प्रतिक्रिया दिए ।
‘सो विषय पार्टीको आधिकारिक धारणा होइन, पार्टीमा धेरै खाले मान्छे छन्, कसले के बोल्छ, त्यो फरक कुरा हो, त्यो विषय पार्टीको नीतिभित्र पर्दैन र आधिकारिक धारणा होइन,’ ती नेताले थपे ।

राजधानीमा खबर छ