कुनैपनि हालतमा केपी-प्रचण्डसँग बदला लिने विप्लवको घोषणा - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

कुनैपनि हालतमा केपी-प्रचण्डसँग बदला लिने विप्लवको घोषणा



काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भोजपुर र काठमाडौंमा ज्यान गुमाएका आफ्ना चार कार्यकर्तालाई सहिद घोषणा गरेको छ ।

पार्टी महासचिव विप्लवले सोमबार साँझ एक वक्तव्य प्रकाशित गर्दै आइतबार काठमाडौँमा भएको विस्फोटमा ज्यान गुमाएका तीन र भोजपुरमा प्रहरीको गोलीबाट मारिएका एकजनालाई सहिद घोषणा गरेका हुन् । ‘काठमाडौँमा भएको बम विस्फोटको घटनामा बलिदान गर्ने पार्टी, जनमुक्ति सेना र जवसका कमाण्डर महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरलाई सहिद घोषणा गरेका छौँ’, विप्लवले भनेका छन्, ‘भोजपुरमा ‘बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’लाई पनि सहिद घोषणा गरिएको छ।’

विप्लवले काठमाडौँमा विस्फोटको घटनामा भएको क्षतिबारे सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले यी सबै घटनाको मुख्य दोषी केपी सरकार रहेको बताएका छन्। महासचिव विप्लवले कम्युनिस्टका नाममा ‘केपी-पीके कम्पनी’ले नेपालमा फासीवादको अभ्यास गरिराखेको आरोप लगाएका छन्। उनले दमनकै क्रममा नेकपा युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को जेठ ७ गते भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोद्रेमा निशस्त्र अवस्थामा गिरफ्तार गरेर गोली हानी हत्या गरेको जनाएका छन्। ‘सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउँछ’, उनले भनेका छन्, ‘प्रतिरोधको सिलसिलामा नेकपाले विभिन्न कार्यक्रमका साथै सोमबार आमहडतालसहित नेपाल बन्दको आयोजना गरेको थियो ।’

नेकपा नेतृत्वको सरकार बनेदेखि नै जनतामाथि दमन सुरु भएको आरोप पनि उनले लगाएका छन्। ‘हाम्रो पार्टीका नेता-कार्यकर्ता, शुभचिन्तकलाई गिरफ्तार, मुठभेटका नाममा निःशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्याका घटना हुन थालेका छन्’, उनले भनेका छन्, ‘यो सरकारले राष्ट्रघात र जनघातमा पनि यसअघिका प्रतिक्रियावादी सरकारलाई उछिनिरहेको छ ।’ विप्लवले काठमाडौँमा भएको विस्फोटमा चारजनाको ज्यान गएपछि छानबिन गरी सत्यतथ्य जनतामा ल्याउने दाबी पनि गरेका छन्। उनले एकीकृत जनक्रान्ति सफल गरिछाड्ने जिकिर पनि गरेका छन्।