विपक्षी गठबन्धनको बैठक सिहंदरबारमा जारी - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

विपक्षी गठबन्धनको बैठक सिहंदरबारमा जारी



काठमाडौँ- विपक्षी गठबन्धनको बैठक सिहंदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा चलिरहेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,जसपाका उपेन्द्र यादव र एमाले नेता माधव कुमार नेपाल सहभागी छन् । बैठक दिउँसो सवा २ बजेदेखि सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र असंवैधानिक रुपमा गरिएको संसद् विघटनका बारेमा छलफल भइरहेको बताइएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र त्यसलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय गैरसंवैधानिक भएको दाबी गर्दै सोमबार देउवाको नेतृत्वमा विपक्षी गठबन्धनबाट १४६ जनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । देउवासहित प्रतिनिधिसभा विघटनको विरोधमा उभिएका दलका शीर्षस्थ नेताहरू आफू सर्वोच्च अदालतमा उपस्थित भएरै निवेदन दर्ता गराएका थिए ।

उनीहरूको रिटमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गैरसंवैधानिक भएकाले त्यसलाई बदर गर्नुपर्ने माग छ । १४९ जनाको समर्थनसहित दाबी पेस गरेकाले ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नू र विश्वासको मत लिने वातावरण बनाउनू’ भनी आदेश माग गरिएको छ । सांसदको हैसियतले कुनै व्यक्तिलाई समर्थन गरेका आधारमा दल त्याग गरेको भनी कारबाही नगर्नू/नगराउनू भनी अन्तरिम आदेशसमेत मागिएको छ ।