सरकारले युवालाई विना धितो ऋण दिन्छ :मन्त्री विष्ट - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

सरकारले युवालाई विना धितो ऋण दिन्छ :मन्त्री विष्ट



नवीन सोचका साथ उद्यमी बन्न चाहने युवालाई सरकारले विना धितो ऋण लगानी गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताएका छन्।

आइतबार राजधानीको कि‌ंङ्स कलेजले आयोजना गरेको तेस्रो राष्ट्रि युवा उद्यमी छनोट कार्यक्रममा बोल्दै मन्त्री विष्टले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यमा पुग्न देशभित्र युवा उद्यमीको खाँचो र आवश्यकता रहेको बताए।

नेपाली युवालाई रोजगारीमा जान रोकेर देशभित्रै उद्यमी बनाउने सरकारको प्रथामिकता रहेको मन्त्री विष्टले बताए । ‘देशभित्र उद्यमी बनेर केही गर्छु भन्ने नयाँ सोच र योजना भएका युवालाई श्रम मन्त्रालयले विना धितो ऋण उपलब्ध गराउन पहल गर्नेछ। युवा जनशक्ति खाडी र मलेसियामा ज्यान जोखिममा पारेर वैदेशिक रोजगारीमा पठाउने रहर सरकारलाई छैन। राज्य युवाले आफ्नै देशमा केही गरून् भन्ने पक्षमा रहेको छ’ मन्त्री विष्टले भने।

विदेशमा जति मेहनत देशभित्र गरे विकास हुने केही समय नलाग्ने उनको भनाई थियो। सरकारलाई दवाव दिने युवा जनशक्ति विदेश पलायन हुँदा नेपालले विकासको फड्को मार्न मुस्किल परेको मन्त्री विष्टले उल्लेख गरे।

विकास र आर्थिक समृद्धिका लागि युवाशक्ति देशको मुख्य स्रोत भएकाले राज्यले युवालाई उद्यमी बनाउन जतिसक्दो विषेश योजना र कार्यक्रम ल्याउनुपर्ने किङ्स कलेजका प्रोफसर आसुतोश तिवारीले बताएका छन्। सरकारले नेपालमा उत्पादन भएका वस्तु बिक्री गर्न बजारको व्यवस्थापन गरी दिए लाखौं युवा उद्यमी बन्न सक्ने धारणा राखे।

उद्यमी बन्ने युवालाई सम्मान र उद्यमशिलता विकास गर्न कलेजले सहयोग गदै आएको छ। कार्यक्रममा यो वर्ष देशभरबाट छनौट भएका ५५ जना उद्यमीलाई तालिम र सम्मानसहित पुरस्कृत गरिएको छ।

ग्रामीण विकास, पर्यटन, सामाजिक रोजगार र स्थानीय तहमा उद्यमी बनेका युवालाई विगत तीन बर्षदेखि कलेजले पुरस्कृत र समान गदै आएको छ।