बिम्स्टेकको चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा सुरु - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

बिम्स्टेकको चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा सुरु



काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेकको)चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । आज विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको उद्घाटन गर्दैछन् । बिम्स्टेकको सम्मेलनको लागि सात देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता रहने छ ।

सम्मेलनमा भाग लिनका लागि म्यानमारका राष्ट्रपति विन मिन्थ मङ्गलबार नै काठमाडौं आइपुगेका छन् । त्यस्तै, बुधवार भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार लिन्पो छिरिङ बाङचुक र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेना नेपाल आइपुगेका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । उनीहरुको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

बिहीबार बिहान ११ बजे अगाबै भारत, थाइल्यान्ड र बङ्गलादेशका सरकार प्रमुख नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल आइपुग्न राष्ट्र तथा सरकार प्रमुखहरूले बिहीबार नै राष्ट्रपति विद्यादेबी भण्डारीसँग सामूहिक रुपमा भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले उनीहरूको स्वागतमा राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार दिवाभोजको आयोजना गर्दैछिन् ।

सम्मेलनको औपचारिक उद्घाटन ताहाचलस्थित सोल्टी होटलमा बिहीबार दिनको ३ बजे गरिने कार्यक्रम तय गरिएको छ । बैठकमा सदस्य राष्ट्रका सरकार प्रमुखहरुले पनि सम्बोधन गर्नेछन् । बिहीबार साँझ प्रधानमन्त्री ओली पाहुनाको स्वागतमा होटल हायातमा रात्रिभोजको आयोजना गर्नेछन् । त्यस अवसरमा सदस्य राष्ट्रका कलाकारहरूले साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।

नेपालमा रहँदा केही सदस्य राष्ट्रका सरकार प्रमुख र नेपाल सरकारबीच विभिन्न विषयमा द्विपक्षीय भेटवार्ता समेत हुने कार्यक्रम तय भएको छ ।