विमानस्थलको मनपरी र दादागिरी कहिलेसम्म ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विमानस्थलको मनपरी र दादागिरी कहिलेसम्म ?



– उमेश बन्जाडे

त्यसै पनि ‘के निहुँ पाउँ, कनिका बुकाऊँ’ भन्ने दुईतिहाई सत्ताको व्यवहारले देशलाई कहाँ पुर्‍याउने हो ऊ स्वयंलाई पत्तो छैन। प्रधानमन्त्री ‘दुई तिहाइ सरकारको विकास देखेर दुनियाँ चकित छ’ भन्छन् । बेथितिले यतिका आधिपत्य जमाउँदासम्म दुनियाँ चकित नहोस् पनि कसरी ? सरकार बारम्बार नयाँ व्यवस्थाको उल्टो शङ्ख फुक्नमै दत्तचित्त सहित लागिपरेको छ। यद्यपि व्यवहारले राणा र पञ्चेहरूलाई समेत उच्छिन्ने लक्षण देखा परेको छ। मृत्यु दर्ताको सिफारिसका लागि एउटा साधारण नागरिक हप्तौँसम्म सरकारी कार्यालय धाउनु पर्छ। कार्यालय प्रमुख ‘सेवा समयमा’ ससुराली जाओस् या टेन्डर वाफतको कमिसन मिलाउन, एउटा नागरिकताको प्रमाणपत्र लिन गएको ख्याउटे अनुहारले उल्टै सातपल्ट हप्काइ खानुपर्छ। आफ्नो दैनिकको रोजीरोटी छाडेर कयौँ दिनसम्म सरकारी कार्यालय धाउने सेवाग्राही मानौँ ती नकचरा कर्मचारीका रैतीहरू हुन् । उनीहरूको रवैया देख्दा यस्तो लाग्छ ‘ती कर्मचारी आफ्नै पैैैत्रिक सम्पपत्ति काटेर निःशुल्क रूपमा सर्वसाधारणलाई बाँड्न’ त्यहाँ बसेका छन् । अझ यसोभनौं कि, उनीहरू लोकसेवाको परीक्षामा थर्काउने र हप्काउने विषयकै जाँच दिएर उतिर्ण भएका हुन्।

माथि उल्लिखित समस्याहरू त देशमै दुखजिलो गरिरहेका नागरिकले स्थानीय तहमा भोग्ने सामान्य समस्या भए। स्थानीय तहका यी मसिना कर्मचारी भन्दा अझै भयानक र आफूलाई साँढे ठान्ने कर्मचारीहरूको दादागिरी मन्साउने ठाउँ हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । जहाँ लगाम फुकेका घोडाहरूको जस्तै मनपरी चल्छ ती कर्मचारीको। अरबको तातो घामले राँकिएर स्वदेश फर्किने अनुहारहरू बहुतै प्यारा मान्छन् । अझै ती मजदुरहरूले विदेशबाट ल्याएका झिटीगुन्टाहरु त झन् आफ्नै लागि ल्याइदिएको ठान्छन्। वर्षौँसम्म परदेशमा पाखुरा खियाएर फर्किएका इमानदार युवाहरूका सामान नचोरी भोक लाग्दैन ती कर्मचारी भनौंदा दादाहरूलाई । गरिबको खुन चुसेर ढाँटिएका नेपाली दलालहरू दक्ष युवा जनशक्ति बेचेर मात्रै अघाउँदैनन्। खाँडिको तातो घाममा आफ्नो रगतपसिना बेचेर फर्किएका तमाम मजदुरहरूलाई नलुट्दासम्म उनीहरूले खाएको पच्दैन। हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र भइरहेका ज्यादतीजन्य खबरहरू अहिले सतहमै आएका छन्। नेपालमा त रोजगारी दिएनन् तर विदेश बाट पसिना बगाएर ल्याएको इमानदारीको उपहार पनि लुट्न थाले। गलत मनोवृत्तिका कर्मचारीको लागि विमानस्थलको नोकरी ‘चोरलाई चौतारो’ सरह भएको छ। जिम्मेवार ठानिएका निकायमा हुतिहारा प्रवृत्ति हाबी भएपछि कसैको केही नलाग्ने रहेछ।

यतिखेर सत्तापक्ष आफ्नै सपनाको बोझले थिचिएर थला बसेको छ। प्रतिपक्षीले बुढो जोस प्रदर्शन गरेर सडकमा तमासा देखाइरहेको छ। सत्तापक्षले धाक देखाउने ‘सुशासन’को सुरुवाल खुस्किएपछि सुन पनि तामा बन्यो । र प्रतिपक्षीको नाम आएपछि वाईडवडि काण्ड पनि साम्य भयो। आफूलाई हिस्सा लाग्ने हरेक घटनाक्रममा न सत्तादारीको सरोकार देखियो न, त विपक्षीको हुङ्कार। यहाँ स्वाद चाख्ने कुरामा कसैको विमति छैन। यदाकदा भागबन्डाको रानिकानी नमिल्दा मात्रै असन्तोष जाउन् गरिन्छ। सत्तापक्ष होस् वा विपक्षी, आफूलाई मुनाफा हुनुपर्‍यो । देशै उत्तानो परेपनी झिनो मतलब राख्ने संस्कार फिटिक्कै छैन । यता श्वास नफेरेर समृद्धि छाँदिरहेको सरकार निरन्तर उँधोगतिर झर्‍यो। उता सुशासनको पहरेदार ठानिने सुरक्षा निकायको पन्जामा परेको चितुवा केही घण्टामै बिरालो बनेर म्याउँ गर्‍यो। खैर, घरमुली नै निकम्मा ठहरिएपछी परिवार लथालिङ्ग र घर भताभुङ्ग हुनलाई आइतबार कुर्नु नपर्दो रहेछ।

यहाँ सरकारको न्यायिक विधिको विरोध गर्न खोजिएको होइन । भन्सार सम्बन्धी कानुनको प्रभावकारी कार्य नयन हुन जरुरी छ।मदिरा लगायतका अनुचित र अवैध सामानमा कडाइ गर्नै पर्छ।तर कानुनको टाँचा निर्धाको निधारमा मात्रै नभएर तस्करीमा संलग्न असली ठेकेदारहरूलाई लाग्नुपर्छ । एउटा मामुली श्रमिकले विदेशमा बसेर घाम,पानी, धुलो, धुवाँ , सबै सहेर चौबिसै घण्टा काम गरी दुई, चार वर्षमा साहुको ऋण चुक्तागर्छ । पाँच÷ छ वर्षमा घर फर्किँदा आफ्नो परिवारलाई कोसेलीको रूपमा केही समानहरू लग्नै पर्ने हुन्छ। सामान्यतया जसले पनि लगेर जान्छ। कानुन विपरीत ल्याइएका सामानहरू जफत हुनु वा उचित भन्सार लाग्नु अनौठो कुरो होइन । यहाँ त खुल्लमखुल्ला डकैती गरिएको छ। लगेज फोडेर महत्त्वपूर्ण सामानहरू पहिल्यै चोरी भएको छ। अब तपाईँ आफै कल्पना गर्नुस् । वर्षौँसम्म परिवार बाट टाढा भएर विदेशी भूमिमा मृत्युसँग पैठेजोरी खेल्दै बचाएको थोरै रकमले उपहार स्वरूप किनेको सामान आफ्नै भनिएको भूमिमा त्यहिपनी अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमै चोरी हुँदा एउटा मजदुरको आत्माले के भन्छ ?

पासपोर्ट बनाएको मिति देखी दलाल र म्यानपावरलाई पोस्नुपर्छ। जेनतेन विदेश पुगियो भने विभिन्न शीर्षकमा महिनौँको पारिश्रमिक कम्पनीलाई दान गर्नुपर्छ। यता तिनै युवाले विदेशबाट रेमिटेन्स पठाएर देश चलाउनु पर्‍यो। अनि उनै गरिबलाई विमानस्थलकै कर्मचारीले धन आर्जनको कारखाना बनाएर भन्सारको नाममा आफ्नो धनसार पनि भर्नु पर्‍यो ? अरे वाह! क्या काइदा छ देशमा। यसरी निर्धा युवाहरूलाई दुहुन गाइझैँ सम्झिएर हरेक निकायमा लुट्ने परिपाटीको कहिले अन्त्य हुने ? तस्करीका नाइँकेहरुसँग कुम जोडेर हिँड्ने देशका शासकहरू मजदुरले ल्याउने झिटिगुन्टाहरु दैनिक चोरिएको र हराएको बारे बेखबर छन् ।

एउटा मोबाइल मात्रै ल्याउँदा भन्सार र कानुनको पाठ पढाउने कर्मचारीहरू क्विन्टलौं सुनका भारी बोकेर तस्करहरू विमानस्थलमा परेड खेलेको देख्दैनन्। तस्करले उनीहरूको मुखमा बुझो लगाएको हुन्छ। तर खाँडिको धुपले रङ्सिएर आएको एउटा मजदुरले परिवारका लागि ल्याएको एउटा मोबाइल पनि उतै बुझाएर आउनुपर्ने हुन्छ। विमानस्थलमा झर्न पाएको छैन, कर्मचारीले ‘खै के के ल्याईस विदेश बाट ?’ भनेर झोला मुसार्न थाल्छन् । समानहरू छरपस्ट पार्छन् र छानीछानी भन्सार छुट छैन भन्दै बिल काटेर आफ्नो खल्तीमा पैसाको मुठो खाँदेर बस्छन् । यो कुनै नौलो कुरो पनि त होइन । के आजसम्म सत्तामा गएर ढाडिएकाहरुले यी यावत समस्याको निराकरण गर्नै सक्तैनन् त ? यदि सक्छन् भने आजसम्म के हेरेर बसेका छन् ? यसरी आम मजदुरहरू माथि लगाएको गिद्धे नजरलाई यथाशीघ्र परिवर्तन गर्न नसके भविष्यमा यसले झनै विकराल रूप लिनेछ। आफ्नै देशमा हामीले खेप्नुपरेको पीडा त यस्तो छ भने दैनिक नेपाल भित्रिने विदेशी पर्यटकहरूको हालत के होला ? निरीह दुई तिहाइ र वाईडवडीका साहुहरूको बेलैमा चेत खुलोस्।

– लमही दाङ, हाल: परदेश