१७ यात्रु बोकेको विमान काभ्रेमा ‘दुर्घटना’ भएको हल्ला र उद्धार
काठमाडौँ – तुम्लिङटारबाट १७ जना यात्रु बोकेर काठमाडौँका लागि उडेको विमान देवीस्थानमा दुर्घटना भयो।
दिउँसो १२ बजे काभ्रेको देवीस्थानमा एक्कासी होहल्ला मच्चियो। ‘केही यात्रुको मृत्यु भयो र केही घाइते भए,’ प्रहरी सेलमा यस्तो खबर आयो। तत्काल प्रहरीका उद्धारकर्मी घटनास्थल पुगे। मृतकका शव बटुलियो। घाइतेको उद्धार गरियो।
त्यसबेलासम्म काभ्रे देवीस्थान आसपास विमान दुर्घटना भएको हल्ला फैलिसकेको थियो। स्थानीयवासी अत्तालिँदै दुर्घटनास्थल आए। उद्धारमा जुट्न थाले।
नजिकै रहेको धुलिखेल अस्पतालले चिकित्सक र नर्सलाई तयारी अवस्थामा राख्यो। अस्पतालका एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखियो।
अस्पतालमा दौडधुप चलिरहँदा स्थानीयमा समेत निकै त्रास थियो। खैलाबैला नै मच्चियो। तुम्लिङटारबाट उडेको सो विमान २७ किमी जति उडेपछि देवीस्थानमा दुर्घटना भयो।
प्रहरी र स्थानीयले घाइतेको उद्धार गर्दैगर्दा त्रिभुवन विमानस्थलका कर्मचारी सुरक्षाकर्मीसहित घटनास्थल पुगे। उद्धारमा जुटे। स्थानीयवासी त्यसबेलासम्म त्रासमै थिए।
प्रहरीका स्थानीय सेटमा विमान हराएको र दुर्घटना भएको खबर गरियो। त्यसपछि उद्धारकर्मी तत्कालै परिचालित भए।
प्रहरीको बैठक भयो। रिपोर्ट गर्ने दौडधुप भयो। विमान देवीस्थानमा दुर्घटना भएको खबर पनि प्रहरीले स्थानीय सुरक्षा संयन्त्रमा सेटबाटै गरायो। घाइते र मृतकको सङ्ख्या पनि भनियो।
तर, स्थानीय त्यसबेला चकित परे, जब प्रहरीले नक्कली दुर्घटना गराइएको कुरा खुलायो। विमानस्थल सुरक्षागार्ड प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीका अनुसार विमान उडाउनेदेखि लिएर दुर्घटना गराउनेसम्मका सबै कार्य नियोजित र नक्कली थिए। उनले भनेअनुसार विमान दुर्घटना भए कसरी उद्धार गर्ने भनेर अभ्यासका लागि नियोजित रुपमा यसो गरिएको हो।
‘सर्च एन्ड रेस्क्यु’ अभियानअन्तर्गत विमानस्थल र प्रहरीले संयुक्त रुपमा यो अभ्यास गरेका हुन्।
एसएसपी भण्डारीका अनुसार विपद् व्यवस्थापन गर्न सजिलो होस् भनेर पूर्वअभ्यास भएको हो। यसले दुर्घटना भइहाले उद्धारमा कसरी जुट्ने भनेर सहयोग पुर्याउने उनको दाबी छ।