विमान दुर्घटना ,चार जनाको मृत्यु - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

विमान दुर्घटना ,चार जनाको मृत्यु



दुबई – दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन माइल दक्षिणमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

यूकेमा दर्ता गरिएको डीए ४२ विमानमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएका र उनीहरू सबैको मृत्यु भएको यूएईका अधिकारीहरूले बताएका छन् ।

वेस्ट ससेक्सस्थित शरम विमानस्थलबाट सञ्चालित फ्लाइट क्यालिब्रेशन सर्भिसेज नामक कम्पनीको स्वामित्वमा रहेको सो चारसिटे विमानमा चालक र सहचालकबाहेक दुई यात्रु सवार थिए ।

सो कम्पनीले रेडार तथा विमानस्थलमा अवतरण प्रणालीजस्ता उड्डयनसम्बन्धी सेवा प्रदान गर्छ र आफ्ना कर्मचारीलाई तिनको निरीक्षण तथा प्रमापन गर्न विश्वभरि खटाउँछ ।

दुर्घटनाबारे छानबिन थालिएको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७ः३० बजेतिर तल झरेको थियो ।

सो दुर्घटनापछि अतिव्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको थियो । विमानस्थलतिर आएका विमानलाई अन्तै मोडिएको थियो भने उड्न लागेका विमानहरू ढिलो उडेका थिए ।

अमेरिकी इन्जिनियरिङ तथा एरोस्पेस कम्पनी हनीवेलले आफूले फ्लाइट क्यालिब्रेशन सर्भिसेजको सेवा लिएको र सो विमानलाई दुबईमा आफ्नो कामका लागि प्रयोग भएको बताएको छ ।