उडिरहेको विमानभित्र बलात्कार
लन्डन । एकजना बेलायती हवाइ यात्रुलाई रात्रिकालीन ट्रान्स एटलान्टिक उडानमा रहेको विमानको बिजिनेस क्लासमा एकजना महिलालाई बलात्कार गरेको आशंकामा गिरफ्तार गरिएको छ ।
नाम नखुलाइएका पीडित महिला पनि बेलायती नागरिक नै भएको बताइएको छ । अमेरिकाको न्युजर्सीको नेवार्कबाट बेलायतको राजधानी लन्डनतर्फ उडिरहेको सो विमानमा सबै निँदाएको अवस्थामा ती पुरुषले महिलामाथि आक्रमण गरेको बताइएको छ ।
बेलायतको सन पत्रिकाकाअनुसार ती महिलाले युनाइटेड एयरलायन्सका कर्मचारीहरूलाई घटनाबारे जानकारी दिएकी थिइन् । कर्मचारीहरूले तत्कालै प्रहरीलाई घटनाबारे उजुरी गरेका थिए । सुरक्षा अधिकारीहरूले घटनास्थलमा फोरेन्सिक परीक्षण गरेका थिए ।
चालिस वर्षीय ती पुरुषलाई प्रहरीले हिरासतमा लिएर हिथ्रो प्रहरी कार्यालयमा लगेका थिए । अनुसन्धान जारी राखिने शर्तमा उनलाई अहिले हिरासतमुक्त गरिएको छ । उनीहरूबीच पहिले चिनजान भएको नदेखिएपनि उडानको दौरान दुवैलाई क्याबिनको लाउन्ज वारमा कुरा गर्दै पेय पदार्थ लिँदै गरेको देखिएको थियो ।
चालिसै वर्ष उमेरकी ती महिलालाई सरकारी अधिकारीहरूले सहयोग गरेका थिए । थप अनुसन्धान जारी रहेको बताइएको छ ।- स्काइ न्युज डटकमबाट ।