अनिश्चितकालका लागि विमान सेवा बन्द
राजविराज । झण्डै ६ दशकदेखि बन्द रहेको सप्तरीको राजविराज विमानस्थल सञ्चालनमा आएको १० महिना नबित्दै पुनः अनिश्चितकालका लागि विमान सेवा बन्द भएको छ ।
गत असार १० गतेदेखि नियमित विमान सेवा थालिएको विमानस्थलमा शुरुमा साताको ५ दिन विमानले उडान भर्दै आएका थिए । पछि प्राविधिक त्रुटि देखाउँदै केहि महिनादेखि ३ दिन उडान भर्दै आएको श्री एयरलाइन्सले आज (सोमवार)देखि अनिश्चितकालिन उडान सेवा बन्द गरेको हो । सुचना बिना नै एयरलाइन्स कम्पनीले विमान सेवा बन्द गरेको राजविराज नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
प्रमुख भिमदत्त पन्तले विमान नआएपछि कम्पनीसँग बुझ्दा विमानको ईन्जिन मर्मतको कार्य शुरु गरिएकोले विमान सेवा बन्द भएको प्रतिक्रिया पाएको जानकारी दिएका छन् । मर्मत कार्य सकिएलगत्तै पुनः विमान सेवा सुरु गरिने कम्पनीबाट जवाफ पाएपनि कहिलेबाट उडान भर्ने बारे यकिन नरहेकोे प्रमुख पन्तले बताए ।
केहि साताअघि मात्रै कार्यालयले विमानस्थलको पूर्वतर्फ रहेको ९० फिटको अग्लो ४ वटा चिम्नीका कारण विमान उडानमा गम्भिर समस्या भइरहेको खुलाएको थियो ।
फाइल तस्बिर