चुम्बन गरेको फोटोबारे बिमला वलीले मुख खोलिन्
काठमाडौं- गालामा चुम्बन गरेको फोटो बाहिरिएपछि तनावमा रहेकी लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले स्पष्टिकरण दिएकी छन् । सामाजिक संजाल फेसबुकमा लामो विज्ञप्ति जारी गर्दै उनले स्पष्टीकरण दिएकी हुन् । बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै विमलाले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरको बताएकी छिन् ।
उनले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाले दाबी गरेकी छन् । विमलाले बस्नेतको गालामा चुम्बन गरेको फोटो सामाजिक सन्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएकी हुन् ।
उनले भनेकी छन्, ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु, एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।’
आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र हत्याको दुस्प्रयास भएको भन्दै उनले यसमा संलग्नमाथि कारवाहीको माग गरेकी छन् ।
आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भएपनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको उनको भनाइ छ ।
उनले विज्ञप्तिमा लेखेकी छन्, ‘माओवादी केन्द्रं रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु ।’