बिमा कम्पनीहरूमा ब्यापक अनियमितता, लाइसेन्स रद्दसम्मको कारबाही हुने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बिमा कम्पनीहरूमा ब्यापक अनियमितता, लाइसेन्स रद्दसम्मको कारबाही हुने



काठमाडौं -बिमा समितिले नेपालका बिमा कम्पनीहरूमा आर्थिक अनियमितताका घटनाहरू बढ्दै गएको बताउँदै त्यसलाई नसच्याइए लाइसेन्स रद्दसम्मको कारबाही गर्ने चेतावनी दिएको छ र त्यस्तै कतिपयलाई कारबाही सुरु गरिसकेको समितिसम्बद्ध स्रोतले जानकारी दिएको छ ।

समितिले हालै तयार गरेको एक प्रतिवेदनमा अधिकांश बिमा कम्पनीहरूले आर्थिक नियम–कानुन पालना नगरेको उल्लेख छ । त्यही प्रतिवेदनको आधारमा कतिपय कम्पनीहरूमाथि कारबाही सुरु गरिएको जानकारी सम्बद्ध अधिकारीहरूले दिएका छन् । समितिले नाफै नभए पनि सेयरधनीहरूलाई अलमलमा पारेर साधारणसभामा नाफा देखाएको भन्दै दुई कम्पनीलाई बोनस सेयर वितरण गर्न रोक लगाएको छ । ती दुवै कम्पनीले साधारणसभामा बोनस सेयर दिने घोषणा गरे पनि समितिले त्यसो नगर्न निर्देशन दिएका कारण त्यो घोषणा कार्यान्वयन नहुने भएको छ । कम्पनीहरूलाई अब आइन्दा झुठो विवरण तयार नगर्न र गरेमा अझ बढी कारबाही हुने चेतावनीसमेत दिइएको जानकारी सम्बद्ध अधिकारीहरूले दिएका छन् ।

‘अधिकांश बिमक (अर्थात् बिमा कम्पनी) हरूले करका लागि आफ्नो बिमा व्यवस्था नगरी तिरेको मात्र खर्च गर्ने गरेको पाइयो । यो व्यवस्था लेखाको सर्वमान्य सिद्धान्त अनुरूप नभएको र हिसाब पारदर्शीसमेत नहुने, कृत्रिम रूपले बढी नाफा देखिने भएकाले यसमा सबै कम्पनीहरूलाई सतर्क गराइएको छ र अनिवार्य रूपमा प्रोभिजन गर्नसमेत निर्देशन दिइएको छ ।’