असार १ देखि मोटरसाइकलमा पनि जोरबिजोर लागु हुने : यस्तो छ नियम - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

असार १ देखि मोटरसाइकलमा पनि जोरबिजोर लागु हुने : यस्तो छ नियम



काठमाडौं- भोलि असार १ गते सोमबारदेखि सबै निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । यो नियम अब मोटरसाइकलमा पनि लागु हुनेछ ।

यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

जिल्ला प्रसाशन कार्यालय, काठमाडौंमा पनि यो निर्देशन पुगेको बताइएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरेपनि जोरबिजोर लागू हुने या नहुने स्पष्ट गरेको थिएन ।

जसका कारण सर्वसाधारणमा अलमल रहेको थियो । यस्तै कार्यान्वयन गर्ने निकाय पनि अलमलमा रहेको थियो । गत बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको थियो ।

यद्यपि, मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइने जानकारी सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

सरकारको निर्णयअनुसार चारपांग्रे निजी सवारीसाधनको हकमा चालकसहित थप दुई जना र मोटरसाइकलमा एक जना चालकमात्रै यात्रा गर्न पाउनेछन् ।

गृहको सर्कुलरअनुसार उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिएको छ । जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ । यसबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको छ ।