बीहारका पूर्वमुख्यमन्त्री लालु यादव चारा घोटालामा दोषी ! - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

बीहारका पूर्वमुख्यमन्त्री लालु यादव चारा घोटालामा दोषी !



नयाँ दिल्ली /ईन्द्र कमल जैरु 

भारतको बीहार राज्यको बहुचर्चित चारा भ्रष्टाचार मामिलामा सीबीआईले बीहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई दोषी ठहर गरेको छ। चारा घोटाला भनेर चर्चित भ्रष्टाचार मामिलामा झारखण्डको राँचीस्थित सीबीआई अदालतले राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादवसहित १६  अभियुक्तलाई दोषी ठहर गरेको छ ।

लालु यादवलाई दोषी ठहर गर्दै आगामी तीन जनवरीका दिन सजाय सुनाउने फैसला गरेको छ । सोही मामिलामा अभियुक्त पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रसहित ५  जनालाई भने अदालतले सफाइ दिएको छ । यद्धपी ३  जनवरीका दिन लालु यादवविरुद्ध सजाय सुनाइने भए पनि शनिवारको फैसला पश्चात् हिरासतमा लिएर बिरसा मुण्डा जेल चलान गरिएको छ।

के हो चारा भ्रष्टाचार ?

सरकारको ढुकुटीबाट ९  सय करोडको चारा घोटाला मामिला पछिल्लो २०  वर्षदेखि चल्दै छ । भ्रष्टाचार अन्तरगत पशु चौपायाका लागि चारो, औषधीलगायतका लागि सरकारी ढुकुटी रित्याइएको थियो । बीहार पुलिसले १९९४  मा राज्यको गुमला, राँची, पटना, डोरण्डा र लोहरदगा जस्ता कयौँ स्थानका आर्थिक कारोबार गर्ने विभागका कोषागार (कोषाध्यक्ष) बाट जाली बिलका माध्यमबाट करोडौं रुपैयाको कथित अवैध निकासी मामिला दर्ता गर्‍यो।

राता-रात सरकारी कोषाध्यक्ष र पशुपालन विभागबाट सयौँ कर्मचारी पक्राउ गरिए, कयौँ ठेकेदार र सप्लायरलाई पनि हिरासतमा लिइयो र राज्यभरि दर्जनौं आपराधिक मुद्दा दर्ता गरियो । त्यसपछि राज्यका विपक्षी दलहरूले भ्रष्टाचारको आकार र राजनीतिक संलग्नतालाई मध्यनजर गर्दै सीबीआई अनुसन्धान गराउनुपर्ने माग गरे । त्यसपछि सुरु भएको छानबिनका क्रममा भ्रष्टाचारमा राज्यका कर्मचारी, नेता र व्यापारीको समान संलग्नता भएको सीबीआईले पाएको थियो ।

पशुपालन विभाग र अधिकारी र राजनीतिक नेताहरूको संलग्नतामा भएको भ्रष्टाचार मामिलामा २०  वर्ष पहिले सुरु भएको मुद्धामा सीबीआईले २३  जुन १९९७  मा लालुप्रसाद यादव र डाक्टर जगन्नाथ मिश्रसहित ५५ जनाविरुद्ध आरोप दर्ता गरेको थियो ।