संसद विघटन भएकै छैन: वरिष्ठ नेता नेपाल - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

संसद विघटन भएकै छैन: वरिष्ठ नेता नेपाल



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन नै नभएको बताएका छन्।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’ र आफू निकट सांसदहरूसँग आगामी रणनीतिबारे छलफल गर्न संसद भवन नयाँबानेश्वर पुगेका नेता नेपालले सञ्चारकर्मी सामू संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताए।

‘संसद विघटन नै भएको छैन। प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले दिएको छैन। त्यसैले हामी संसद विघटन भएको मान्दैनौं’, उनले भने।

नेता नेपालले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म विपरित काम गरेको आरोप लगाए।

पार्टीभित्र अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले गैरसम्वैधानिक कदम उठाएको नेता नेपालले आरोप लगाए। ‘ओलीको गलत कदमको जवाफ हामीले संसदीय दलको बैठक, स्थायी कमिटी बैठक र भोली बस्ने केन्द्रीय कमिटी बैठकबाट दिनेछौं’, उनले भने।

आगामी रणनीति तय गर्न अन्य दलहरूसँग पनि परामर्श भइरहेको नेता नेपालले बताए। उनले ९० जना सांसदले ओलीको विरुद्धमा हस्ताक्षर गरिसकेको बताउँदै रघुवीर महासेठलगायत अन्य सांसदहरू पनि ओलीविरुद्धमा रहेको बताए।