महानगरवासीले दिएको जिम्मेवारी पूरा गरेको बिद्यासुन्दरको दाबी - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

महानगरवासीले दिएको जिम्मेवारी पूरा गरेको बिद्यासुन्दरको दाबी



काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन्।

मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि बताए। शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरवासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए।

त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाई थियो। मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकीर पनि गरे।

सबै वडाहरुलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न नै भइसक्यो भनेर भने आफूले नभन्ने बताए।

उनले विकास, निर्माणको काम निरन्तरको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताए। उनले मुद्धा मामिलाका कारण पनि महानगरपालिका अन्तरगतका सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टिकरण दिए।

सोही कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरुको कामलाई अघि बढाइएको बताए।