सरकारसँग अनुमति नलिइ विद्यासुन्दर जापान गए - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

सरकारसँग अनुमति नलिइ विद्यासुन्दर जापान गए



काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन्।

उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका खबर आजको कान्तिपुरले छापेको छ।

संविधानको धारा ५९ (६) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय तहका पदाधिकारीले विदेश जाँदा सम्पर्क मन्त्रालयमार्फत कार्यक्रम स्वीकृत गराउनुपर्ने व्यवस्था छ।

तर, शाक्यले संघीय मामिला मन्त्रालयसँग स्वीकृति लिएका छैनन्। ‘जनप्रतिनिधि विदेश भ्रमणमा जाने गरेको अनौपचारिक जानकारीचाहिँ पाएका छौँ,’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘औपचारिक जानकारी दिने गरेका छैनन्।’

गत चैत २१ मा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी पूर्वस्वीकृति लिएर मात्र वैदेशिक भ्रमणमा जान सर्कुलर गरेको थियो।

काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला र प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर शाक्यले भ्रमण स्वीकृति लिए–नलिएको बारे आफूलाई जानकारी नभएको बताए। ‘जापान जानुभएको भन्ने सुनेको छु, के कार्यक्रममा किन जानुभएको हो, थाहा भएन,’ कार्कीले भने।

फागुन २३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म वैदेशिक भ्रमणका कार्यक्रम स्थगित गर्न निर्देशन दिएको थियो।

प्रधानमन्त्री कार्यालयको उक्त निर्देशनबारे संघीय मन्त्रालयको जनशक्ति विकास तथा स्थानीय तह कर्मचारी अभिलेख शाखाले स्थानीय तहहरूलाई पत्राचार गरेको थियो।